चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुढानीलकण्ठ नगरपालिका–१०, उद्धार माध्यमिक विद्यालय तथा रौनियार महिला समाजको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।
जेठ २३ गते शनिबार बाल उद्धार माध्यमिक विद्यालय परिसरमा आयोजित शिविर बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन भएको थियो। एक दर्जन चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले स्थानीय बासिन्दाहरूलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक स्वास्थ्य सुझाव प्रदान गरेको थियो।
शिविरमा विभिन्न उमेर समूहका स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले निःशुल्क स्वास्थ्य परीक्षणका साथै स्वास्थ्यसम्बन्धी जिज्ञासाहरूको समाधान र रोगको प्रारम्भिक पहिचानसम्बन्धी परामर्श प्राप्त गरेका थिए।

अस्पतालका अनुसार आर्थिक, सामाजिक तथा अन्य विभिन्न कारणले नियमित स्वास्थ्य परीक्षणबाट वञ्चित समुदायलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो। कार्यक्रमबाट बुढानीलकण्ठ–१० तथा आसपासका क्षेत्रका सयौं स्थानीयवासी लाभान्वित भएका छन्।

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले समुदायस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा पहुँच विस्तार, स्वास्थ्य सचेतना अभिवृद्धि तथा रोगको प्रारम्भिक पहिचानमार्फत समयमै उपचारमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस्ता सामाजिक तथा सामुदायिक स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने बुढानीलकण्ठ नगरपालिका–१०, बाल उद्धार माध्यमिक विद्यालय, रौनियार महिला समाज, स्थानीय जनप्रतिनिधि, स्वयंसेवक तथा सम्पूर्ण सहभागीप्रति अस्पतालले आभार व्यक्त गरेको छ। रासस




















