नगरवासीको एक लाख रुपैयाँसम्म उपचार सुविधा र ३ प्रतिशत करसमेत नगरपालिकाले व्यहोर्ने व्यवस्था
गोकर्णेश्वर नगरपालिकाका नागरिकलाई सहज, गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., चाबहिल र गोकर्णेश्वर नगरपालिका बीच महत्वपूर्ण स्वास्थ्य सहकार्य सम्झौता सम्पन्न भएको छ। नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौतापछि आयोजित कार्यक्रममा ॐ हस्पिटलका अध्यक्ष तथा सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठले स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न निजी स्वास्थ्य संस्था र स्थानीय सरकारबीचको सहकार्य प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले यस सम्झौतामार्फत गोकर्णेश्वर नगरपालिकाका नागरिकले विशेषज्ञ चिकित्सकीय सेवा अझ सहज, गुणस्तरीय तथा सहुलियतपूर्ण रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले नगरवासीको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै प्रभावकारी स्वास्थ्य सेवा विस्तारका लागि ॐ हस्पिटलसँग गरिएको सहकार्य महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो। उहाँले यसबाट नगरवासीले प्रत्यक्ष लाभ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।

सम्झौता समारोहमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत तथा मेडिकल डाइरेक्टर डा. हरिश जोशी को विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा नगरपालिकाका उप-प्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत यम नारायण गौली, ॐ हस्पिटलका प्रशासकीय अधिकृत विपिन जङ्गम, कर्पोरेट सर्भिस व्यवस्थापक इरु पौडेल, मानव संसाधन विभाग प्रमुख लवराज अवस्थी, नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु लगायत जनप्रतिनिधि, पदाधिकारी तथा कर्मचारीहरूको पनि सहभागिता रहेको थियो।

सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाका नागरिकहरूले ॐ हस्पिटलमा विभिन्न स्वास्थ्य सेवामा एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सहुलियत प्राप्त गर्नेछन्। साथै, नेपाल सरकारले बिरामीलाई लाग्ने ३ प्रतिशत करसमेत नगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाइएको छ, जसबाट उपचार खर्चमा थप राहत पुग्ने अपेक्षा गरिएको छ।

विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय स्वास्थ्य सेवाका लागि परिचित ॐ हस्पिटलले यस सहकार्यले गोकर्णेश्वरवासीलाई समयमै प्रभावकारी उपचार सेवा उपलब्ध गराउनुका साथै स्वास्थ्य क्षेत्रमा निजी–सार्वजनिक साझेदारीको सफल नमूना स्थापित गर्ने विश्वास व्यक्त गरेको छ। अस्पतालका अनुसार आगामी दिनमा यस्ता सहकार्यलाई थप विस्तार गर्दै नागरिकमुखी स्वास्थ्य सेवा अझ प्रभावकारी बनाइनेछ।




















