सरकार र चिकित्सकबीच सहमति : सेवा सुचारु

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न भएको विवाद र त्यसपछिको चिकित्सक आन्दोलन अन्त्य गर्न सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएको छ। सहमतिसँगै नेपाल चिकित्सक संघले आजैदेखि आन्दोलनका सबै कार्यक्रम स्थगित गर्दै स्वास्थ्य सेवा सुचारु गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच बुधबार भएको बैठकले पाँच बुँदे सहमति गरेको हो।

सहमतिअनुसार नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहारमा संलग्न व्यक्तिमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम थप कानुनी कारबाही अघि बढाइनेछ।

त्यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ का दफा २, ३ र १५ तथा मुलुकी अपराध संहिता, २०७४ का दफा २३२ र २३३ मा आवश्यक संशोधन गर्न आगामी प्रतिनिधिसभा अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया तत्काल सुरु गर्ने सहमति भएको छ। यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ।

यस्तै, उपभोक्ता संरक्षण ऐन, २०७५ मा स्वास्थ्यसम्बन्धी विषय संशोधन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल चिकित्सक संघको सहभागितामा सात दिनभित्र कार्यदल गठन गर्ने तथा सो कार्यदलको प्रतिवेदनका आधारमा कानुन तथा उद्योग मन्त्रालयले आवश्यक सहजीकरण गर्ने निर्णय गरिएको छ।

बैठकले यसअघि सरकार र नेपाल चिकित्सक संघबीच भएका सम्झौताहरूको कार्यान्वयनका लागि स्वास्थ्य, कानुन मन्त्रालय तथा चिकित्सक संघको सहभागितामा तीन दिनभित्र अर्को कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ।

सहमतिको पाँचौँ बुँदाअनुसार नेपाल चिकित्सक संघले जारी राखेको आन्दोलन तत्काल स्थगित गरी देशभरका स्वास्थ्य संस्थामा सेवा नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ।

बैठकमा कानुन मन्त्रालयका सचिव पाराश्वर ढुङ्गाना, उद्योग मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी, स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधान, गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, महासचिव डा. विश्वराज दवाडी र सहकोषाध्यक्ष डा. तेजसु सिंह मल्लको सहभागिता रहेको थियो।


ताजा खबर