वाइ–फाइ नेपालले श्री पाण्डेलाई सह–ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गरेको छ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वाइ–फाइ नेपालको काठमाडौंमा आयोजित विशेष समारोहमा सञ्चारकर्मी तथा पत्रकार पाण्डेलाई सह–ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गरेको हो ।
नेपालको सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय पाण्डे आफ्नो व्यावसायिक दक्षता, प्रेरणादायी यात्रा तथा पत्रकारिताप्रतिको समर्पणका लागि परिचित हुनुहुन्छ । उहाँको अनुभव, विश्वसनीयता र पत्रकारिताप्रतिको समर्पण वाइ–फाइ नेपालको विश्वसनीय, गुणस्तरीय तथा सबैका लागि पहुँचयोग्य इन्टरनेट सेवाप्रतिको प्रतिबद्धतासँग मेल खाने विश्वास कम्पनीले व्यक्त गरेको वाइ–फाइ नेपाल ललितपुर शाखाका पंकज घिमिरेले बताउनुभयो ।
कम्पनीका अनुसार पाण्डेसँगको यो सहकार्यले वाइ–फाइ नेपालको ब्रान्डलाई अझ सुदृढ बनाउनुका साथै गुणस्तरीय इन्टरनेट सेवाको पहुँच देशभर विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । कम्पनीले आगामी दिनमा पनि नवीन प्रविधि, उत्कृष्ट ग्राहक सेवा तथा डिजिटल नेपालको निर्माणमा आफ्नो योगदानलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।
यस अवसरमा बोल्दै वाइ–फाइ नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारले भन्नुभयो, “श्री पाण्डेजस्तो अनुभवी सञ्चारकर्मीलाई वाइ–फाइ नेपाल परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । उहाँको अनुभव, विश्वसनीयता र समाजसँगको गहिरो सम्बन्धले हाम्रो ब्रान्डका मूल्य र प्रतिबद्धतालाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने विश्वास गरेका छौँ ।”
सह–ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त भएपछि पाण्डेले भन्नुभयो, “वाइ–फाइ नेपालजस्तो विश्वसनीय ब्रान्डसँग सहकार्य गर्न पाउँदा म निकै खुसी छु । गुणस्तरीय इन्टरनेट सेवामार्फत देशभरका मानिसलाई जोड्ने यस यात्रामा सहभागी हुन पाउनु मेरा लागि गर्वको विषय हो ।”




















