भारतका विदेशमन्त्री जयशंकर र रुसका राष्ट्रपति पुटिनको भेटवार्ता

भारतका विदेशमन्त्री एस. जयशंकरले सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन्।

एस. जयशंकरले सामाजिक सञ्जालमार्फत रुसको राजधानी मस्कोमा पुटिनसँग भेटवार्ता गरेको जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘आज (सोमबार) मस्कोमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न पाउँदा खुसी लाग्यो। मैले उनलाई (भारतका) प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत सन्देश हस्तान्तरण गरेँ।’

साथै यस अवसरमा पुटिनलाई रुसमै सम्पन्न २७औँ आईआरआईजीसी-टेक (व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहयोगसम्बन्धी अन्तरसरकारी आयोग) अन्तर्गत भएको छलफलबारे पनि जानकारी गराएको जय शंकरले उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘रुसका राष्ट्रपति पुटिनसँग क्षेत्रीय र विश्वव्यापी महत्त्वका मुद्दाहरूमा पनि छलफल गरियो।’

यसअघि अर्को पोस्टमा भारतीय विदेशमन्त्रीले भारत-रुस व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहयोगसम्बन्धी अन्तरसरकारी आयोगको २७औँ बैठक अत्यन्तै फलदायी भएको बताएका छन्।

उनले भनेका छन्, ‘हाम्रो छलफल व्यापार, लगानी, ऊर्जा, मल, आणविक ऊर्जा, कनेक्टिभिटी, प्रविधि, अन्तरिक्ष र गतिशीलतालगायत धेरै क्षेत्रमा व्यापक सहयोगमा केन्द्रित थियो।’


ताजा खबर