सिरहाको गोलबजारका धुलाम्मे गल्लीहरूमा हुर्किएका एक सामान्य बालक आज टर्किको राजधानी अङ्कारामा लाखौँ बालबालिकाका लागि आशाको किरण बनेका छन्। बालरोग तथा नवजात शिशु रोग विशेषज्ञ डा. विनोदकुमार साह परदेशी भूमिमा केवल एक सफल चिकित्सक मात्र होइनन्, स्थानीयहरूका लागि ‘जिउँदो भगवान’ र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान उँचो बनाउने एक अनुकरणीय व्यक्तित्व हुन्।
अङ्कारामा सूर्यको पहिलो किरणसँगै डा. विनोद साहको अत्याधुनिक क्लिनिक सञ्चालनमा आउँछ। बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म नवजात शिशु, प्रिम्याच्योर बच्चा र किशोर-किशोरीहरूको उपचारका लागि अभिभावकहरूको घुइँचो लाग्छ। टर्कि सरकारबाट ‘बेस्ट डाक्टर अफ द इयर (२०१५)’ र ‘बेस्ट चाइल्ड डाक्टर (२०२४)’ जस्ता प्रतिष्ठित राष्ट्रपतीय अवार्डबाट सम्मानित डा. साह वाणिज्य राजदूतको जिम्मेवारीमा समेत रहेका छन्।
डा. साहको यो उचाइ रातारात मिलेको होइन। बाल्यकालमा पढाइभन्दा खेलकुद र बदमासीमा अल्झिएका विनोदलाई अनुशासित बनाउन उनका बुवाले गरेको कठोर निर्णय नै उनको जीवनको मुख्य मोड बन्यो। हाटबजारमा भारी बोकेर, पछि घोडामा सामान बेचेर परिवार पाल्ने बुवाको एउटै अटल सपना थियो— छोरालाई डाक्टर बनाउने। १३ वर्षको उमेरमा घरबाट निकालिएर अनुशासन सिक्न बोर्डिङ स्कूल पठाइएका उनले बुवाको कठोरता र “किड्नी बेचेर भए पनि छोरालाई डाक्टर पढाउँछु” भन्ने अठोटलाई आफ्नो मुख्य प्रेरणा बनाए।
सन् १९९४ मा प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा उच्च स्थान हासिल गर्दै उनले सरकारी छात्रवृत्ति प्राप्त गरे। तर बुवाकै दूरदर्शी सोचका कारण नेपालमा नबसी उनी टर्किको पूर्ण छात्रवृत्ति रोजेर विदेशिए। सुरुवाती दिनमा भाषा र नयाँ वातावरणको ठूलो सङ्घर्ष रहे पनि ९७ प्रतिशत अङ्कसहित भाषा परीक्षा पास गर्दै उनी अगाडि बढे। प्राध्यापकको कडा भाषाका कारण पहिलो बेन्चमै बसेर रोएका विनोदले निरन्तरको मिहिनेतले कक्षामा लगातार तीन वर्ष प्रथम स्थान हासिल गरे। पछि उनले विश्वकै छैटौँ उत्कृष्ट मानिने ह्याजेटेप युनिभर्सिटीबाट एमडी र नवजात शिशु रोगमा डीएम हासिल गरे भने अनुसन्धान तर्फ विश्वका उत्कृष्ट चार अनुसन्धानकर्ताभित्र पर्न सफल भए।
सन् २०१६ मा नेपाल फर्किएर उनले काठमाडौंस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालमा पेडियाट्रिक्स विभागको नेतृत्व सम्हाले। त्यही क्रममा उनले नेपालमा पहिलोपटक पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट (पिआइसियु) को स्थापना गरे, जुन नेपाली स्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक कोसेढुङ्गा साबित भयो। आधुनिक उपकरण, प्रशिक्षित जनशक्ति र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार पारिएको यो युनिट सञ्चालन गरी हस्तान्तरण गरेपछि नेपालमा विद्यमान पूर्वाधारको कमी र प्रशासनिक जटिलताका कारण उनी पुनः टर्कि फर्किए।
चिकित्सा यात्राका क्रममा उनीसँग अनेकौँ भावुक र चमत्कारिक क्षणहरू जोडिएका छन्। सन् २०११ मा ह्याजेटेप अस्पतालमा तीन प्रिम्याच्योर बच्चामध्ये दुई जनाको निधन भइसकेको र तेस्रो बच्चा पनि अन्तिम अवस्थामा पुगेको बेला, सामान्य प्रोटोकलभन्दा बाहिर गएर उनले निरन्तर ४८ मिनेट सीपीआर दिएर बच्चाको ज्यान बचाएका थिए। त्यसैगरी, ६० वर्षको उमेरमा मुटु र मिर्गौलाको गम्भीर समस्याबाट पीडित आफ्नै बुवालाई अक्सिजन र भेन्टिलेटरको व्यवस्थासहित टर्किये पुर्याएर २५ दिनको सघन उपचारपछि नयाँ जीवन दिए। ‘बेस्ट डाक्टर अफ द इयर’ अवार्ड समारोहमा ह्विलचेयरमा उपस्थित बुवाले “मेरो छोराको हातले मलाई बचायो, मेरो सपना पूरा भयो” भन्दा सिङ्गो समारोह भावुक बनेको थियो।
कठिन बाल्यकाल, पारिवारिक अभाव, वैदेशिक अध्ययनको चुनौती र जीवनका अनेकौँ घुम्तीहरू पार गर्दै डा. विनोद आज सफल बालरोग विशेषज्ञका रूपमा स्थापित छन्। टर्कियेमा कर्मथलो भए पनि उनको मन अझै नेपालमै छ। भविष्यमा नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रका बालबालिकालाई लक्षित गरी अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक पेडियाट्रिक अस्पताल स्थापना गर्ने उनको संकल्प रहेको छ। सफल नेपाल विशेष




















