‘दी एभरेस्ट ड्रिम’ लाई जुरी अवार्ड

नेपाली वृत्तचित्र ‘दी एभरेस्ट ड्रिम’ ले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ सिम्लामा स्पेसल जुरी सर्ट डकुमेन्ट्री अवार्ड जितेको छ । भारतको सिम्लामा आयोजित १२ औँ अवार्ड कार्यक्रममा गणेश पाण्डेले निर्देशन तथा निर्माण गर्नुभएको ‘दी एभरेस्ट ड्रिम’ ले विश्वभरका अन्तर्राष्ट्रिय वृत्तचित्रबिच प्रतिस्पर्धा गर्दै अवार्ड आफ्नो पोल्टामा पार्नुभएको हो ।

अवार्ड समारोहमा हिमाचल प्रदेशका गभर्नर कविन्दर गुप्ता र फेस्टिभल निर्देशक पुष्पराज ठाकुरले पाण्डेलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो । मस्तिष्कमा गम्भीर चोट लागेपछि जीवनमा अनेक चुनौती सामना गरिरहेका बेलायती नागरिकको एभरेस्ट बेस क्याम्पसम्मको साहसिक यात्राको कथा ‘दी एभरेस्ट ड्रिम’ मा प्रस्तुत गरिएको छ । स्कटल्यान्डबाट सुरु भएको उहाँहरूको कठिन प्रशिक्षणदेखि नेपाल आएर हिमालयको यात्रासम्मको अनुभवलाई वृत्तचित्रले समेटेको छ ।

जेम्स लेम्बको नेतृत्वमा पाँच जना ब्रेन इन्जुरी सर्भाइबर्ससहित सात सदस्यीय टोलीले एभरेस्ट बेस क्याम्पसम्म गरेको यात्रालाई चलचित्र देखाइएको छ ।

निर्देशक पाण्डेका अनुसार चलचित्रको मुख्य सन्देश ‘जीवनमा गम्भीर चोट वा कठिनाइ आए पनि मानिसले नयाँ सपना देख्न र ती सपना पूरा गर्न सक्छ’ भन्ने रहेको छ ।  ‘दी एभरेस्ट ड्रिम’ ले यसअघि अमेरिकाको जर्जियास्थित कब अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितिसकेको छ ।  रासस


ताजा खबर