कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा प्रभाव बढी पर्ने /धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने ।
बंगालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित जोखिमबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागले जारी गरेको पोस्ट मनसुनसम्बन्धी विशेष बुलेटिनअनुसार चक्रवात अति शक्तिशाली बन्न सक्ने सम्भावना छ। यो प्रणाली आगामी कात्तिक ११ गते भारतको जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ। यसको प्रभाव नेपालमा कात्तिक १२ गते बिहीबार रातिदेखि देखिन सक्ने प्राधिकरणले जनाएको छ।
विशेषगरी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा यसको प्रभाव बढी पर्ने अनुमान छ। ती प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले कात्तिक १२, १३ र १४ गते विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, पूर्वतयारीका लागि आठबुँदे सुझाव जारी गरेको छ।

प्राधिकरणका आठबुँदे सुझाव
१. कृषि कार्य समयमै सक्ने: धान काट्ने र भित्र्याउनेलगायतका कृषि कार्य कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न तथा गराउन आग्रह गरिएको छ।
२. उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजाने: पर्यटकलाई उक्त अवधिमा यी क्षेत्रमा भ्रमण नगर्न र गइसकेकालाई सुरक्षित स्थानमा रहन सुझाव दिइएको छ।
३. आवश्यकताअनुसार यातायात रोक्ने: जोखिमको अवस्था हेरी सवारी आवागमन बन्द गर्नुपर्ने हुन सक्ने भएकाले त्यसअघि नै सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था मिलाउन भनिएको छ।
४. अनावश्यक यात्रा नगर्ने: सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्क रहन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरिएको छ।
५. पूर्वतयारी अवस्थामा रहने: संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई जोखिमबारे सर्वसाधारणलाई जानकारी गराउन र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सुझाव दिइएको छ।
६. जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्ने: पूर्वसूचना र चेतावनीका आधारमा जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई आवश्यकताअनुसार समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न भनिएको छ।
७. आधिकारिक सूचना पालना गर्ने: प्राधिकरण, नेपाल मौसम विज्ञान विभागलगायत सम्बन्धित निकायबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना र चेतावनी पालना गर्न आग्रह गरिएको छ।
८. आपत्कालीन सम्पर्क नम्बर प्रयोग गर्ने: मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्का बेला सहयोग माग्न १२३४, १०० वा १११४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।
नदीको जलसतह बढ्न सक्ने चेतावनी
प्राधिकरणका अनुसार चक्रवात ‘अर्नब’ को सम्भावित प्रभावका कारण कात्तिक ११ देखि १५ गतेसम्म विशेषगरी नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार, उपजलाधार तथा आसपासका क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्छ। यसले नदीको जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ।
सम्भावित जोखिमबाट बच्न आधिकारिक मौसम सूचना नियमित रूपमा हेर्न, आवश्यक पूर्वतयारी गर्न र सुरक्षा निकायको निर्देशन पालना गर्न प्राधिकरणले सबैमा अनुरोध गरेको छ।




















