नयाँ कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको हुबे प्रान्तमा रहेका सबै नेपाली नागरिकको उद्धार गरिने भएको छ।
शनिवार बेइजिङस्थित नेपाली दूतावासले एउटा सूचना जारी गर्दै हुबेमा रहेका नेपालीहरूको उद्धार गर्ने र इच्छुक व्यक्तिलाई त्यसका लागि आवेदन दिन भनेको छ।
यसअघि त्यस क्षेत्रमा रहेका नेपालीहरूले आफूहरूलाई तत्काल उद्धार गर्न सरकारसँग माग गरेका थिए।
नेपालीहरूको उद्धारका लागि एउटा विशेष चार्टर्ड विमान पठाइन लागेको र त्यसबारे विस्तृत विवरण चाँडै सार्वजनिक गरिने दूतावासद्वारा जारी सूचनामा जनाइएको छ।
चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसलाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य सङ्कट’ घोषणा गरेको छ।
चीनमा ११,००० भन्दा बढी व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ भने अहिलेसम्म २५९ जनाको मृत्यु भइसकेको छ।
चीनबाहिर नेपालसहित २२ देशमा १०० जनाभन्दा बढी व्यक्तिमा सङ्क्रमण भएको विवरण प्राप्त भएको छ। –बीबीसी