विकसित देशमा घट्दो क्रममा रहेकाे क्यान्सर विकासाेन्मुख देशमा बढ्दै गएको छ। नेपालमा प्रत्येक वर्ष २६ हजारहाराहारी नयाँ बिरामी देखिँदै गरेकोमा वार्षिक १९ हजारको मुत्यु भइरहेको छ। विकासाेन्मुख देशमा समयमै क्यान्सर पहिचान नहुनु तथा परिवर्तित जीवनशैली, व्यायाम अभाव, जंकफुड र फास्टफुडको बढ्दो प्रयोगजस्ता कारण क्यान्सर रोगी बढ्दै गएको चिकित्सक बताउँछन्।
३० देखि ५० प्रतिशतसम्म क्यान्सर रोकथाम गर्न सकिन्छ
क्यान्सर लागेमा ३० देखि ५० प्रतिशतसम्म रोकथाम गर्न सकिने क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईंले बताइन् । तर, क्यान्सर उपचारमा प्रयोग हुने (रेडियोथेरापी) जस्ता उपकरण देशमा पर्याप्त मात्रामा नहुँदा बिरामीहले लामो समय पालो कुरेर बस्नुपर्ने बाध्यता छ।
उपकरण सधैं अभाव
१० लाख जनसंख्याबराबर एउटा रेडियोथेरापी मेसिन भयो भने सर्वसुलभ सेवा प्रदान गर्न सकिने डा. चापागाईंले बताइन्। ‘अहिले ठूला अस्पतालमा करिब नाैवटा रेडियोथेरापी मेसिन उपलब्ध छन्,’ उनले भनिन्, ‘नेपालको जनसंख्या दृष्टिगत गर्दा थप २१ रेडियोथेरापी मेसिन आवश्यक पर्छ।’
२० प्रतिशत मृत्युको कारण क्यान्सर
सन् २०२० मा विश्वमा १ करोड लाख ७९ हजार नयाँ क्यान्सर बिरामी देखापर्ने र १ करोड २० लाखले ज्यान गुमाउने अनुमान छ। नेपालमा स्वास्थ्य संस्थामा उपचार गर्न पुगेका बिरामीको तथ्यांक हेर्दा ५४ प्रतिशत महिला तथा ४६ प्रतिशत पुरुषमा क्यान्सर पाइएको छ।
नेपालमा नसर्ने रोगले कूल मृत्युमध्ये ६६ प्रतिशत ओगटेको छ। जसमध्ये २० प्रतिशतले क्यान्सर रोगका कारण ज्यान गुमाउँछन्।
क्यान्सर उपचार गर्न एक नेपालीले २ सय ६२ किलोमिटर धाउनुपर्छ
एक अनुसन्धानले क्यान्सर लागेका बिरामीले उपचार गराउन औसत २ सय ६२ किलोमिटर धाउनुपर्ने बाध्यता रहेको देखाएको छ। नेपालका सहरी क्षेत्रमा मात्र सुविधासम्पन्न अस्पताल भएकाले दूरदराज बस्नेले सास्ती खेप्दै आएका छन्। उपचार गर्न औसत १ सय ३ दिन बिताइरहेका र उपचारमा भन्दा बस्न र खानमा बढी लगानी गर्नुपरिरहेको डा. फडिन्द्रप्रसाद बरालले बताए।
‘क्यान्सर रोग उपचारमा लगाइने खोपको शुल्क १ सय रुपैयाँ पर्छ, तर देशका दूरदराजबाट अस्पताल आइपुग्दा १० हजारभन्दा बढी खर्च हुन्छ,’ डा. बरालले भने, ‘क्यान्सर उपचार गर्दा ८० प्रतिशत खान र बस्नमा खर्च हुन्छ, २० प्रतिशतमात्रै रोग उपचारमा खर्च हुन्छ।’
४५ प्रतिशतमा ब्लड क्यान्सर, ७५ प्रतिशत रोगी उपचार पहुँचमा छैनन्
नेपालकाे कूल जनसंख्यामध्ये १५ वर्षमुनिका बालबालिका ३५ प्रतिशत छन्। प्रत्येक वर्ष १ हजार ५ सयदेखि २ हजारसम्म बालबालिकालाई क्यान्सर भएको अनुमान गरिएको छ। तर, उपचार दायरामा आउने सख्या एकदमै न्यून (३ सय ५०) हाराहारी भएको कान्ती बाल अस्पतालका बालक्यान्सर रोग विशेषज्ञ डा. सुधीर सापकोटाले बताए।
‘बालबालिकामा सबैभन्दा बढी ब्लड क्यान्सर हुने गरेको छ। ब्लड क्यान्सरले मात्र आधा हिस्सा अर्थात ४५ प्रतिशत ओगटेको छ भने २५ प्रतिशत बालबालिका उपचार दायरामा आएका छन्,’ डा. सापकोटाले भने, ‘७५ प्रतिशत अझै उपचार दायरामा आएका छैनन्।’
नेपालमा फोक्सोको क्यान्सर पहिलो स्थानमा
नेपालमा फोक्सो, पाठेघरको मुख र स्तन क्यान्सर सबैभन्दा बढी र क्रमशः डिम्माशयको क्यान्सर, पित्तथैली क्यान्सर, पेट, आमाशयको क्यान्सर भएको चिकित्सक बताउँछन्।
फोक्सोको क्यान्सर बढ्नुमा धुमपान अतिरिक्त वायु प्रदुषण प्रमुख कारण रहेको डा. चापागाईंले बताएकी छिन्। पाठेघर तथा स्तन क्यान्सर वंशाणुगत, ढिलो विवाह गर्ने र ढिलो सन्तान जन्माउनेमा बढी देखिन्छ। ३० वर्षपछि विवाह गरेका महिलामा स्तन क्यान्सर जोखिम बढी देखिएको चिकित्सक बताउँछन्।
पाठेघर क्यान्सर हुनुका कारण
कम उमेरमा विवाह र यौनसम्पर्क हुनु, एकभन्दा बढी जनासँग यौनसम्पर्क राख्नु, कम उमेरमा धेरै बच्चा जन्माउनु, उचित सरसफाइ नगर्नु, सुर्तीजन्य पदार्थ सेवन गर्नु, यौनरोग एवं गुप्तांगसम्बन्धी दीर्घरोगी हुनु पाठेघरको मुखको क्यान्सरका प्रमुख कारण हुन्। विकीरण, प्रदुषण, भाइरस, परजीवी, सरसफाइमा कमी, वंशाणुगत कारण, शारीरिक दुर्वलतालाई पनि क्यान्सरको कारणका रुपमा लिइएको छ ।
चिकित्सकका अनुसार पाठेघरको क्यान्सर ह्युमन पापिलोमा भाइरसका कारण हुन्छ। असुरक्षित यौनसम्पर्क र धेरै सन्तान जन्माउँदा पाठेघरको मुखमा चोट लागेर यो भाइरसकाे संक्रमण बढेमा क्यान्सरको सम्भावना बढ्छ। रोग प्रतिरोधी क्षमता कम हुने र धुमपान गर्नेमा यो समस्या झनै देखिन्छ।
३० वर्षको उमेरमा नै पाठेघर क्यान्सर
चिकित्सकका अनुसार साधारणतया: क्यान्सर ४० वर्ष उमेरपछि देखापर्ने भए पनि नेपालजस्ता अविकसित देशमा ३० वर्ष अथवा त्यसभन्दा कम उमेरमै देखापर्ने गरेको छ।
कहाँ–कहाँ हुन्छ क्यान्सर उपचार?
नेपालमा चितवन भरतपुर, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंका वीर अस्पताल, कान्ति बालअस्पताल, पाटन अस्पताल, मणिपाल क्यान्सर अस्पताल, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर तथा काठमाडौं क्यान्सर सेन्टरमा क्यान्सर उपचार हुन्छ।
विपन्न नागरिक तथा औषधि तथा उपचारमा आर्थिक वर्ष २०७५/७६ मा १० हजार ९ सय १० क्यान्सर रोगीले १ लाखको सेवासुविधा लिएका छन्।
के हो क्यान्सर?
शरीरमा कोष बन्ने र निश्चित समयपछि नष्ट हुने प्रक्रिया जारी रहन्छ। कोषको विभाजन, यसको नष्ट र डिएनए निर्माण महत्त्वपूर्ण भूमिका निभाउने वंशाणुमा खलल पुगे निर्माण प्रक्रिया अनियन्त्रित भई क्यान्सर हुने चिकित्सकले बताएका छन्।
क्यान्सर रोगको त्यो ठूलो समूह हो, जसमा शरीरको भाग विशेषमा कोषको अस्वाभाविक वृद्धि हुन्छ। त्यसले कोषको आफ्नो क्षेत्र नाघेर फैलिँदै जान्छ र छेउका कोष तथा अंगमा आक्रमण गर्दै फैलिन थाल्छ। शरीरको कुनै पनि भागमा क्यान्सर लाग्न सक्छ।
क्यान्सर रोगमा हुन सक्ने चिह्न र लक्षण
१. खकारमा रगत देखापर्ने वा निको नहुने खोकी
२. घाउ लामो समयसम्म निको नहुने
३. महिनावारी नभएका बेला रगत देखिनु वा महिनावारी रोकिएका महिलाको पुनः रक्तस्राव हुन वा सहवासपछि रक्तस्राव हुनु।
४. स्तनमा गाँठागुठी देखिनु, मुुन्टोबाट रगत मिसिएको दूध आउनु वा मुन्टो दबिनु।
५. खाना निल्न गाह्रो हुनु वा स्वर परिवर्तन वा धोद्रो हुनु।
६. छोटो समयमा नै शरीरको वजन धेरै घट्नु, रक्तअल्पता देखिनु र बारम्बार ज्वरो आइरहनु।
क्यान्सरबाट बच्ने उपाय
१.चुरोट, बिँडी, खैनी, सुर्ती, जाँडरक्सी र लागूपदार्थ सेवन नगर्ने
२. बासी, सडेगलेका र ढुसी परेका खाना नखाने
३. पाेलेको, डढेको मासु तथा अन्य खानेकुरा नखाने
४. अखाद्य रङ प्रयोग गरिएका खानेकुरा नखाने
५. चिल्लो बोसोयुक्त खानेकुरा नखाने
६. धुलो, धुँवा तथा वातावरणीय प्रदूषणबाट जोगिने
७. स्तन गिर्खा, गाँठागुठी पलाएको छ/छैन, प्रत्येक महिना आफैं राम्ररी छामेर हेर्ने र फेला परे चिकित्सकसँग परामर्श लिने
८. गुप्ताङ्ग सधैं सफा राख्ने