करण केसीले नेपाललाई दिलाए अर्को रोमाञ्चक जित / नेदरल्यान्ड्स ४ विकेटले पराजित

करण केसीको अल-राउन्ड प्रदर्शनमा नेपालले ओमानमा भइरहेको पाँच देशको टी-२० श्रृंखलामा सोमबार नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको छ।

बलिङ गर्दा ४ विकेट लिएका करनले ७ नम्बरमा ब्याटिङ गर्न आएर केबल १४ बलमै ३१ रन बनाउँदै रोमाञ्चक जित दिलाएका छन्। खेलको अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रन चाहिएकोमा करणले २ छक्का र १ चौका हान्दै पाँच बलमै नेपाललाई लगातार दोस्रो खेलमा विजयी बनाएका छन्।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए भने हङकङविरूद्ध आइतबार अविजित ५८ रन बनाएका विनोद भण्डारीले २६ रन बनाए।

टस हारेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुँदै १३३ रन बनाएको थियो।

नेपालका लागि सन्दीप लामिछानेले चार ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट र करन केसीले ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए।  साथै ललित नारायण राजवंशीले एक विकेट लिए।


ताजा खबर