स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथामका कदमहरुलाई प्रभावकारी बनाउन मातहतका विभाग र कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई सार्वजनिक विदाका दिनमा समेत काम गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले एक सूचना जारी गरी सार्वजनिक विदामा काम गर्न र उपसचिव तथा अधिकृत स्तरका कर्मचारीहरुलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन समेत दिएको छ ।
मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग, आन्तरिक प्रशासन शाखा, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायत १८ कार्यालयलाई हिजो पत्र पठाई बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको हो ।
मन्त्रालयका उपसचिव प्रमोद सिंखडाद्वारा जारी सूचनामा मन्त्रालय मातहतका विभाग र काठमाडौं उपत्यकाका सार्वजनिक अस्पतालहरुलाई कोरोना संक्रमण रोकथाम परिचालन गर्न विदाका दिनमा समेत काम गर्ने निणय भएको जनाइएको छ । रासस