गेहेन्द्र राजभण्डारी
मोडिएको राडीको कार्पेटमाथि रातो चकटीमा बसेर अनुहारभरि मुस्कानका साथ बा बस्नुहुन्थ्यो। नजिकै पित्तलको सानो भाँडामा पानी, छेवैमा पानी पुस्ने कपडा, अगाडि सेतो थालीमा दही, केरा अनि रातो अबिरमा मुछेको दसैंको टीका।
हामी टीकाको नजिकै राखिएको केराको कोसा अनि विरलै दर्शन पाइने स्याउका दानामा हेर्दै घुटुक्क थुक निल्थ्यौं। अनि किस्तीमा राखिएका नयाँ कट्कटी नोटतिर हेर्दै गम खान्थ्यौं।
‘आज बाले टीका लगाएर कति पैसा दिने हुन्?’
टुक्रुक्क अगाडि बसेपछि बाले दुवै हातले रातो टीका समात्दै सारा संसारका शुभ आशिष फलाक्नुहुन्थ्यो। मानौं ब्रह्माण्डका सारा वरदानको एकलौटि वारेस मै हुँ।
अनि फलाक्नुहुन्थ्यो कहिल्यै नसुनिएका मन्त्रहरू:
जयन्ती माला…
यी मन्त्रहरू सायद नियम नै थिए, अर्थ थाहा थिएन तर दसैंको झंकार गुञ्जिन्थ्यो।
अनि बा लेघ्रो तानेर भन्नुहुन्थ्यो।
सुब्बा भएस्! खरदार भएस्! हल्दार भएस्!
ओहो! सुब्बा! खरदार! हल्दार!, मलाई लाग्थ्यो- यी संसारकै ठूऽऽऽला मान्छे हुन्।
बाले आशिषमा भन्या सुब्बा हुन पाए…
बाले आशिषमा भन्या खरदार हुन पाए…
बाले आशिषमा भन्या हल्दार हुन पाए…
निधारभरि रातो टीका लाई, पाएको केराको कोसा आधा खाँदै, हात परेको दुर्लभ स्याउको एक छेउ टोकी बाँकी जतनका साथ राखी (साथीलाई देखाउन) म गाउँको गल्लीगल्ली दगुर्थेँ। आखिर साथीसंगीको अघि फुईं लाउन पनि त परो!
वर्षमा एकपटक पाइएको लुगा (जो हरसमय स्कुल ड्रेस हुन्थ्यो) को सुगन्धले पुलकित हुँदै म गाउँ दगुर्थेँ।
साथीहरू जम्मा गरी भन्थेँ- अब त म सुब्बा बन्ने हो। अनि खरदार। अनि हल्दार। त्यसपछि त ठूलो मान्छे हुने हो!
साथीहरू सोध्थे- यो खरदार भन्या राजाभन्दा नि ठूलो हो? हल्दार भन्या भगवानभन्दा ठूलो हो?
जवाफ थाहा थिएन।
तर दौंतरीको अगाडि थाहा छैन भन्न नि भएन।
म भन्थेँ- सुब्बा, खरदार, हल्दार भन्या सबभन्दा ठूलो हो। त्यसैले बाले आशिष देका।
कोही-कोही जान्ने पल्टनेले प्वाक्क सोध्थे- कस्तो हुन्छ यो सुब्बा, खरदार? कस्तो हुन्छ यो हल्दार?
छाती चौडा गरेर आकाशतिर शिर उठाउँदै म भन्थे- म पछि भएसी भनम्ला। अनि चाल पाउलास्।
सत्ते, मलाई नि थाहा थिएन।
हुन त त्यस बेला हामीलाई पुलिसको सबभन्दा ठूलो हल्दार नै लाग्थ्यो। एकजना हल्दारको उपस्थिति काफी थियो सारा एरियाको मुटुको धड्कनको रफ्तार बढाउन। हल्दार साप भनेसि सबै थर्कमान!
अनि त्यो शक्तिशाली हल्दार सापले समेत नमस्ते गर्ने सुब्बा सापको झन कुरै बेग्लै।
देशको प्रशासनमा सुब्बा सापलाई नरिझाए पात समेत हल्लाउन सक्ने समय थिएन हाम्रा तिरका मान्छेका लागि। सबै खेतिपाती गरेर बस्ने गाउँका मान्छेलाई यी सरकारका सर्वाधिक महत्त्वपूर्ण र सर्वोच्च पदाधिकारी थिए।
त्यसैले गाउँका बुढापाकाले मेरो निधारको रातो टीका हेरेर ‘तँ त सुब्बा बन्ने भइछस् हैन? अनि हल्दार बन्ने हैन’ भन्दा जिउ नै सिरिङ्ग हुन्थ्यो।
त्यत्रो ठूलो मान्छे बन्दा के-के हुने हो!
बेतोडले कुद्दै फूर्तिका साथ जवाफ फर्काउँथे – हो!
खोला किनार चउरमा गाउँभरीका मान्छे जम्मा भएर चंगा जुधाउँदै गरेको ठाउँमा गर्वले भन्थेँ- बाले आशिष देका छन्। अब बनिन्छ सुब्बा। अनि हल्दार बनिन्छ।
अहिले आएर अलिकति बुझ्ने भएसी म कहिलेकाहीँ आफैंलाई प्रश्न गर्छु- साँच्ची, बाले हरेक वर्ष मलाई आकाशभरिको आशिष दिँदा किन सुब्बा, खरदार, हल्दार भए भनेका होलान्? के बालाई यी सबभन्दा ठूला मान्छे हुन् भन्ने लागेको हो? ‘ठूलो मान्छे’को अर्थ यतिमै सीमित भएको हो?
हुन त मेरो ज्ञान बाको अनुभव अगाडि एक छेउ पनि छैन। तर मलाई लाग्छ- अबका बाहरूले आफ्ना सन्तानलाई आशिष दिँदा अलिकति परिवर्तन गर्नुपर्ने आवश्यकता छ। आकाशभरिको आशिष खरदार-सुब्बामै खुम्चाएर राखिनु हुँदैन।
अबका बाहरूले आफ्ना सन्तानहरूलाई आशिष दिँदा क्षितिजसम्मको फराकिलो एवं आकाशजतिकै अग्लो अभिलाषाका साथ भनून्- उद्यमी भएस्! उद्यम गरेस्! नयाँ कुरा गरेस्! जागिर खाने हैन, अरुलाई जागिर दिने काम गरेस्!
कहिलेकाहीँ मलाई लाग्छ, हाम्रो अविकसित एवं पछ्यौटेपनको विभिन्न कारणहरूमध्ये एक प्रतिभाशाली मानिसले जागिर खानु पनि हो। थुप्रै सम्भावना भएको मानिस जागिर खायो, आफ्नो परिवारमा सीमित भयो। बस्!
क्षमतावान् र नवीन काम गर्नसक्ने मान्छेले जागिर नखाएर जागिर दिनसक्ने स्थितिमा पुगे!
हो, त्यही बिन्दुबाट सुरू हुन्छ साँच्चै देशको प्रगतितिरको यात्रा। अनि हुनेछ आशिष दिनेहरूको पनि चौडा छाती।
त्यसैले यसपालिको टीकामा म बालाई अत्यन्त आदरका साथ भन्नेछु- बा, अब तपाईंको आशिषलाई अलि समय अनुसारको बनाउन पर्यो।
अब तपाईंले टीका लाइदिँदा सबैलाई भन्नुपर्यो-
उद्यमी भएस्! उद्यम गरेस्! नयाँ र सिर्जनशील काम गरेस्!
सारा नेपाली आमाबाहरूले पनि आफ्ना सन्तानलाई टीका लाउँदै यही भनून्, दसैंको मेरो कामना!