नेपाल र दक्षिण एशियाका मुलुकहरुबाट हिजो साँझ चन्द्रमा नदेखिएका कारण आजका लागि घोषणा गरिएको सार्वजनिक विदा भोली सोमवार दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्रालयले आजका लागि इदको सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मुसलमान समुदायमा हिजरी संवतको महिनाभर रोजा अर्थात ब्रत बसिसकेपछि इद उल फित्र मनाउने प्रचलन छ ।
चन्द्रमाको गतिका आधारमा तय गरिने इदपर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाइने इस्लाम परम्परा छ ।
मस्जिदमा गएर इदको नमाज पढेपछि एक अर्कासँग शुभकामना आदानप्रदान तथा भाइचारा र आत्मियता साटासाट गरी इद मनाउने गरिएपनि यसपटकको विषम परिस्थितिका कारण घरघरमै नमाज पढेर मनाइदैछ ।
इद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज अर्पण गर्ने इस्लाम परम्परा छ । इदका दिन धर्मगुरुले कुरान वाचन गरेर सद्विचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । यो पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष जम्मा भएर सामूहिक नमाज अर्पण गर्ने परम्परा भए पनि यसपालि लकडाउनले गर्दा घरघरै यो धार्मिक विधि सम्पन्न गर्ने तयारी छ ।