तर मानिसका मन खुलेका छैनन्

  • रमण घिमिरे

खुल्यो
सबै कुरा खुल्यो
तर मानिसका मन खुलेका छैनन्
मनका विश्वास र भरोसाहरू खुलेका छैनन्
राज्यको बोलीले
दिनदिनै नयाँ आविष्कारहरू खोलिरहेछ
मृतकका टाउकाको हिसाब गरेर
बहीखाता खोलिरहेछ
तर भोको पेटमा
आन्द्रा रेटिएर बाँच्न लाचारहरूको
जीवनधारा सधैँ लकडाउन छ

देख्नै चाहँदैन
सुन्नै चाहँदैन
आफूले सोचेको भन्दा विपरीत सत्य
यो बुझ्नै चाहँदैन

किनभने
आँखा र कान भएर पनि
विवेकको अन्धो र बहिरो
हेर्दा त मान्छेजस्तै हुन्छ
तर अस्तित्वमा यो
चौबाटोमा ठड्याइएको सालिकजस्तै
निर्जीव हुन्छ

त्यसैले सबै खुल्यो
खुल्न बाँकी पनि बिस्तारै खुल्दै जानेछ
तर यसको दिमाग
सायद कहिल्यै खुल्ने छैन

यो हाम्रो राज्य हो
राज्य आफैँमा सालिक होइन
तर राज्य चलाउनेहरू सालिक भएपछि
यो आफैँ मूर्दा भएको छ


ताजा खबर