कोरोनाको कारण थप एक जनाको मृत्यु : ५९३ जना थपिए पछि कुल संक्रमित ११,७५५

आज थप ५ सय ९३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ४ सय ८६ जना पुरुष र एक सय ७ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

हाल सम्म ७६ जिल्लाका १० हजार ५ सय ६ जना पुरुष र १ हजार २ सय ४९ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले दिनुभएको जानकारी अनुसार आज मोरङका २, झापाका ४, सुनसरीका १०, धनुषाका १५, महोत्तरीका ४, रौतहटका ५६, सिराहाका ६, अछामका १, बैतडीका २५, बझाङका ९, बाजुराका २७, बाराका २, दार्चुलाका ३, डोटीका ४६, गोरखाका ६, कैलालीका ३१, कन्चनपुरका ४२, कपिलवस्तुका २१, सल्यानका ४, नवलपरासीका २४, नुवाकोटका १, काठमाडौका ३, चितवनका १२, गुल्मीका २५, सिन्धुलीका ६, कास्कीका २, लम्जुङका ६, बाग्लुङका १, तनहुँका २, स्याङ्जाका १, अर्घाखाँचीका ३, पाल्पाका ७६, रुपन्देहीका ६, दाङका ७५, प्युठानका २०, दैलेखका ५, जाजरकोटका २, मुगुका १, सुर्खेतका १२, जुम्लाका ३ जनामा संक्रमण पुष्टी भएको छ ।

यसैगरी आज थप ४८ जना कोरोना भाइरसको संक्रमण मुक्त भएसंगै हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न आईसोलेसन सेन्टरबाट ४० जना पुरूष र ८ जना महिला संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सम्म २ सय २४ जना महिला र २ हजार ४ सय ७४ जना पुरुष संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिक मृत अवस्थामा फेला परेकी अन्दाजी २५–३० वर्षीय महिलामा संक्रमण पुष्टि भएसंगै संक्रमण पछि मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

हिजो राती ११ बजे मृत अवस्थामा फेला परेकी महिलाको थप विवरण प्रप्त हुन बाँकी रहेको मन्त्रालयका प्रवक्ता प्र. डा. गौतमले जानकारी दिनुभयो ।

देशका विभिन्न प्रयोगशालामा हाल सम्म जम्मा १ लाख ८८ हजार २ सय ४ वटा पिसीआर तथा २ लाख ६८ हजार ८ सय २७ वटा आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ वटा पिसीआर तथा २ हजार ४ सय ८६ वटा आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ७१ हजार १२ जना रहेका छन् भने विभिन्न आईसोलेसन स्थलहरुमा ९ हजार ३० जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।


ताजा खबर