उपनिर्वाचनको कार्यतालिका सार्वजनिक : २१ गते मनोनयन दर्ता

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। एक प्रतिनिधिसभा, तीन प्रदेशसभा र ४८ स्थानीय तह गरी ५२ रिक्त पदका लागि हुने उपनिर्वाचनको मनोनयन दर्ताका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो।

शुक्रबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि कात्तिक २१ गते मनोनयन दर्ताको समय तोकिएको छ। कार्यतालिकाअनुसार कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूचना प्रकाशन गर्ने, २२ गते बिहान ११ बजेदेखि अपराह्न पाँच बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, २४ गते दिउँसो ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ। त्यस्तै, २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिनिधिसभा सदस्यतर्फ कास्की जिल्लाको निर्वाचन क्षेत्र नं. २ र प्रदेशसभातर्फ भक्तपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभाको क्षेत्र नं. १, बाग्लुङ क्षेत्र नं. २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ र दाङ निर्वाचन क्षेत्र नं. ३ को २ मा उपनिर्वाचन हुँदै छ। कास्की–२ बाट नेकपातर्फबाट रवीन्द्र अधिकारी विजयी भएका थिए। संस्कृति, नागरिक उड्डयनमन्त्रीसमेत रहेका अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। बाग्लुङ क्षेत्र नं. २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रदेश सांसद टेकबहादुर घर्तीमगरको मंसिर २७ गते दिल्लीमा उपचारका क्रममा निधन भएको थियो। उनी वाममोर्चाको गठबन्धनतर्फबाट निर्वाचित जनमोर्चाका सांसद थिए।


ताजा खबर