जिउँदै भट्टामा हाल्ने मान्छेलाई गिरफ्तार गर्दा काँग्रेसको नैतिकता कहाँ गयो ?

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानुनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले कानुनी शासनभित्र कसैले उन्मुक्ति नपाउने र कानुन सबैलाई बाराबरी लाग्ने बताए ।

पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्जसमेत रहेका मन्त्री बाँस्कोटाले भने, “कानून सबैका निम्ति बराबर हो, विधिमा चलेको वर्तमान सरकार सुशासनको पहरेदार बनिरहेको छ, बनिरहन्छ ।”

विधिको शासन स्थापित गर्न सरकार दत्तचित्त रहेकोमा कसैलाई शङ्का नगर्न उनले आग्रह गरे । मन्त्री बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रशासनलाई चुनौती दिने गल्ती गरिरहेको दाबी गरे ।

“एकातिर सुशासन स्थापनाको माग गर्ने, अर्कोतिर २२ जनालाई जिउँदै भट्टामा हाल्ने आरोप खेपेका मान्छेलाई गिरफ्तार गर्दा राज्यसंयन्त्र प्रयोग गरेर दुःख दियो, सुशासन खोइ भनेर प्रश्न गर्ने तपाईहरुको नैतिकता कहाँ गयो ?” उनले प्रश्न गरे । सुशासनमाथि आक्रमण नगर्न उनले चेतावनीसमेत दिए । मन्त्री बाँस्काटाले गलत विषय समाजमा स्थापित नहुने भएकाले भ्रममा नपर्न काङ्ग्रेसलाई सुझाव दिए ।


ताजा खबर