शोभा सिलवाल
सांसदलाई मात्रै आएछ दसैँ , भत्ता यिनलाई चाहिएको छ
हामी जनता जसोतसो ,बाँच्नसम्म पाइएको छ ।
लागे लागोस् जनतालाई ,कोरोना यिनलाई के को बाल छ?
जति धेरै सङ्क्रमित बढे ,उति यिनलाई माल छ ।
जसको हातमा डाडुपन्यु ,उसले चाट्नै पर्ने अरे
सांसद , मेयर , मन्त्रीको नाम ,ढुङ्गामा लेख्नै पर्ने अरे ।
लौन , कस्तो बिडम्बना ? यो देशले सहेकै छ
अरबौँ ,खरबौं बजेट हेर ,भुँडीभित्र गएकै छ ।
लक्षित वर्गलाई मात्र,कोभिड १९ को उपचार अरे
यो उपचार लिनलाई नि ,यिनकै आसेपासे अघि सरे ।
हाम्रो देशका सांसदको, नैतिकता कहाँ गयो ?
संविधानमा दशैँ भत्ता, खाने नियम कहिले आयो ?
कोरोना परीक्षण आफैँ गर् ,भन्नु संवेदनहीनताको पराकाष्ठा
हामी पनि मर्ने नै हो, भन्ने छैन पापको चेष्टा ।
कसले बुझ्ने ? देशविदेशका श्रमिकका कथाव्यथा
चाडबाड जे आए नि, गरिबका उही छ व्यथा ।
सांसदको उपचार, खर्च २०० % ले बढेको छ
पल्लो घरको हर्के दाइ, बिच सडकमा ढलेको छ ।
बाँच्न मन भए हामीले, आफ्नो उपचार आफै गर्नु अरे
जनतालाई बचाउने, कानुन बनेकै छैन रे ।