महामारीमा स्वास्थ्यकर्मीको उच्च मूल्याङ्कन होस्

~ज्वाला सुवेदी

मैले नर्सिङ् सेवाको सुरुवात गरेको दुई दशक पूरा भएको छ । यस अवधिमा कुनै पनि बिरामीलाई आफूले सकेको सेवा निस्वार्थ मनले गरेकी छु र गर्दै आएकी पनि छु । रोगी दुःखले छट्पटाउँदा तिनीहरूकै सेवामा समर्पित हुनु हाम्रो पेशागत धर्म भएकोले पनि हामी निरन्तर सेवामा लागेकै हुन्छौँ । कहिले गर्भवतीको,कहिले] NICU मा राखिएका बच्चाहरू को,कहिले ICU मा रहेका बिरामीहरूको सेवा र कहिले अप्रेशन थिएटरमा रोगसँग लडिरहेकाहरूको सेवमा रहेर कार्य गरेकी थिएँ । अहिले विभागीय प्रमुखको हैसियतले कार्य गरिरहेकी छु ।

जुुनसुकै जिम्मेवारीमा रहेर कार्य गर्दा र कहिल्यै पनि नहिच्किचाइकन अगाडि बढ्दा आत्मसन्तुष्टि मिल्ने गर्दथ्यो । आजसम्म उनै सेवा गरेका बिरामीहरूको आशिर्वादले राम्रै भइरहेको छ । एउटा साधारण मध्यमवर्गीय परिवारमा जन्मिएर गाउँले जीवनबाट दशम कक्षासम्मको पढाईपछि सहरीया बातावरणमा घुलमिल भएर आफ्नो अध्यायनलाई अघि बढाउँदै आज यो ठाउँसम्म आईपुग्न सफल भएकी छु । यो सबै हुनुमा सबैभन्दा ठूलो हात मेरा बुबा,आमा र परिवार तथा मैले सेवा गरेका बिरामीहरूको आशिर्वाद नै हो भन्ने कुरामा मलाई ठूलो बिश्वास छ र सदैब रहने नै छ ।

आज कोभिड–१९ ले विश्वव्यापी रूपमा मानिसको जनजीवन अस्तव्यस्त भइराखेको छ । यसको पहिलो छालमा म आफैँ COVID-19, Isolation ward Incharge भएर प्रत्यक्ष रूपमा बिरामीको सेवामा खटिएकी थिएँ । त्यसबेला म सधैँ सोच्ने गर्थेँ हामी युद्धको रणमैदानमा छौँ र हामीले यो युद्ध जित्नैपर्छ । त्यो समयमा पनि हामीले बिरामी डिस्चार्ज गरेर घर पठाउँदा उहाँहरूले खुशी भएर दिनुभएको धन्यवाद र आशिर्वाद अहिलेसम्म ताजै छ । बिरामीको सेवा गर्दागर्दै स्वयम् सङ्क्रमित हुन पुगे पनि कहिल्यै सेवाबाट पछि नहटीकन निरन्तर रूपमा सेवा दिँदै आफू र आफ्ना परिवारका सदस्यहरूको स्वास्थ्य अवस्थाको वास्ता नै नगरी काखको सानो दूधे बालक र दीर्घरोगी बुबा–आमालाई छोडेर आफू कोरोनाविरुद्धको लडाइँमा सधैँभरि होमिइरहेँ ।

अहिले नेपालमा कोरोनाको दोस्रो छाल आउँदा मैले प्रत्यक्ष रूपमा बिरामीको सेवा नगरे तापनि अप्रत्यक्ष रूपमै सेवामा कमि गरेकी छैन र पछि हटेकी पनि छैन । तर, आजका दिनहरूमा बिभिन्न कारणले गर्दा बिरामीहरूले सेवाबाट बञ्चित हुनुपरेको आँखाले टुलुटुलु हेर्नुपर्दा मेरो भित्रीमन रुन्छ । र, म ती मेरा बितेका समयहरू सम्झन्छु । दिनरात नभनी हामी त बिरामीको सेवामा लागि नै रहेका छौँ, तर पनि कहिले बेडको अभाव त कहिले अक्सिजन जस्तो अत्यावश्यक कुराको कमिले बिरामी र तिनका आफन्तहरू छट्पटाएर बसिरहेको देख्दा कसको मन नरोला र ? त्यसमा पनि पहिलेदेखि नै आफ्ना चिनजानका ,नातागोता, साथीभाइ आदिलाई निस्वार्थ मनले गरेको सेवा सम्झेर उनीहरू अहिले पनि सेवाको लागि आश र गुहार बोकेर आएका बेला आफूले केही पनि गर्नसक्ने अवस्था छैन । यतिखेर म केही गर्न सक्दिनँ भन्दाखेरी त झन् भित्रैबाट मन भक्कानिएर आउँछ ।


अन्ततः यसै लेखमार्फत् म सबैजनालाई के भन्न चाहन्छु भने यो हाम्रो युद्ध वा कहाली लाग्दो रात हो र हामीले यसलाई जित्यौँ भने सुनौलो बिहानी अवश्य आउने छ । यो कोरोनाविरुद्धको लडाइमा अवश्य पनि जित तपाईं हाम्रै हुनेछ । त्यसैले धैर्य गर्नुहोस् नआत्तिनुहोस्, चिकित्सकले बिरामीको जाँच गरेर अक्सिजनसहित घरमा नै उपचार गर्ने सल्लाह दिएको खण्डमा मात्र घरमा अक्सिजन सिलिन्डर राखौँ । त्यत्तिकै अक्सिजनको अभाव भएको हल्लाको पछि लागेर जरुरत नै नपरीकन पहुँच हुनेले घरघरमा अक्सिजन सिलिन्डरहरू थुपारेर नराखौँ, किनभने घरमा अक्सिजन चलाउन त सक्नुहोला,डाक्टर र नर्सलाई पनि पैसा तिरेर राख्नुहोला, तर, अवस्था बिग्रँदै गयो भने अस्पताल नगईकन धर छैन । घरमा ICU तथा भेन्टिलेटर लगायतका सेवा पाउन पनि मुश्किल नै पर्छ । त्यसैले घर घरमा अक्सिजन सिलिन्डरहरू नराखी मानवताको नाताले सम्बन्धित ठाउँमा फिर्ता गरौँ र अशल तथा जिम्मेवार नागरिकको भूमिका निर्वाह गरौँ ।


घर घरमा राखिएका अक्सिजन सिलिन्डरका कारण अस्पतालले अभाव झेलिरहेका बेला बिरामी भर्ना लिन नसकेर बिरामीले ज्यान गुमाउनु परिरहेको छ । त्यसैले जतिसक्दो चाँडो अक्सिजन सिलिन्डरहरू घर घरबाट निकालेर अस्पतालसम्म पुर्याएर बिरामीको रक्षा गर्न सहयोग पुर्याउने काम गरौँ । सङ्क्रमण रोकथामका नियमहरू पालना गरौँ, सकारात्मक सोच राखौँ र बिरामीहरूलाई पनि यस्तो रोग लागेर निको हुनेहरूसँगको अनुभव, भोगाई साटासाट गरेर सकारात्मक सोचाई राख्न भनेर सधैँभरि परामर्श गरौँ ।


साथै यो माहामारीमा खटिने डाक्टर, नर्स लगायत सबै स्वास्थ्यकर्मीहरूको यो महामारीको समयमा रहेको भूमिकाको उच्च मूल्याङ्कन सम्वन्धित निकायहरूबाट गरियोस् भन्ने आकांक्षा छ । यसका अतिरिक्त अत्यन्त मत्वपूर्ण कुरा भनेको अक्सिजन जस्तो अत्यावश्यकवस्तु आपूर्तिमा सहजीकरण होस् भनी विभिन्न सरोकारवालाहरूसँग बिन्ती गर्दै भगवान पशुपतिनाथसँग बिरामीहरूको जीवनरक्षा गरिदिनुहोस् भन्दै दशऔँला जोडी भित्री मनबाट नै प्रार्थना गर्दछु ।

सुवेदी काठमाडौं चावहिलस्थित ॐ अस्पतालमा कार्यरत हुनुहुन्छ ।


ताजा खबर