श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनबीच आज भेटवार्ता भएको छ ।
तीन दिने नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री मन्त्री नासुसन शुक्रवार काठमाडौँमा भएको भेटमा मलेसियामा रहेका नेपाली कामदारको सेवा सुरक्षाबारे छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बताउनुभयो।
मन्त्री अर्यालले भेटवार्ताका क्रममा नेपाली कामदारको तलब सुविधा, उपचार व्यवस्था तथा अन्य सामाजिक सुरक्षा लगायतको विषयमा छलफल भएको र नेपाली कामदारलाई मलेसियाका स्थानीय कामदार सरहको सेवा सुविधा उपलब्ध गराउन मलेसियाको तर्फबाट प्रतिबद्धता जनाएको बताउनुभयो ।
भेटवार्ताका क्रममा नेपाल र मलेसिया बीचको श्रम सम्झौता कार्यान्वयन गर्ने तथा नेपाली कामदारलाई शून्य लागतमा मलेसिया लैजाने निर्णय कार्यान्वयन गर्नेबारे समेत छलफल भएको मन्त्री अर्यालले बताउनुभयो ।