बहुदल र पञ्चायतकालमा जनतामा जस्तो निराशा थियो, त्यस्तै निराशा गणतन्त्रमा पनि देखिँदै छ । लोकतान्त्रिक गणतन्त्रको एक अभियन्ताको हैसियतले बढ्दो निराशाबारे के भन्नुहुन्छ ?
यसको जवाफ खोज्नुअघि हाम्रो देशको भौगोलिक अवस्थिति विचार गर्नुपर्छ । एसियाली मुलुकहरू जापान, कोरिया, ताइवानजस्ता विकसित मुलुकको बीचमा हामी भएको भए हाम्रो देशको स्थिति पक्कै अर्कै हुन्थ्यो । अस्ट्रेलिया, युरोपसँग जोडिएको भए, जसरी ती देशहरू विकासको चरम बिन्दुमा पुगिसकेका छन्, त्यसरी नै हामी पनि तानिएर त्यही ठाउँमा पुग्ने थियौँ होला ।
तर, हाम्रो देश भारत, बंगलादेश, श्रीलंका जस्ता मुलुकसँग भौगोलिकरूपमा नजिक छ । चीनसँग सिमाना त जोडिएको छ, तर बीचमा ठूलो पर्खाल (हिमाल) छ । त्यो पर्खालको कारणले त्यताको विकास जति यता आउनुपर्ने थियो, आउन गाह्रो भएको छ । अर्थात् हाम्रो देशको विकास र प्रगतिमा हाम्रो भौगोलिक अवस्थिति पनि बाधक बनेको छ ।
अव प्रश्नतिर फर्कौँ, आजकल हामी खाली निराशाको कुरा मात्रै गर्न थालेका छौँ । ‘हामी बर्बाद भयौँ, खतम भयौँ’ मात्रै भन्ने हो भने जनतामा झन् निराशा बढ्न सक्छ । हामीकहाँ नकारात्मक भावना झन् बढ्दो छ । शान्ति व्यवस्था, अमनचैनको हिसाबले हेर्ने हो भने हामीमा जे छ, त्यो पर्याप्त छैन । तर, भारत, पाकिस्तान, बगंलादेशसँग तुलना गर्ने हो भने हामी उनीहरूभन्दा सुखी छौँ । ती देशहरूमा विभिन्न खालका सामाजिक समस्या छन् । आतंकवादको खतरा छ, चोरी डकैतीको समस्या विकराल छ । कसैले राम्रो गाडी किन्यो भने पनि तुरुन्तै फिरौती माग्न आउलान् भन्ने डर अहिले पनि छ । यो हदको असुरक्षा र डरको स्थिति हामीकहाँ छैन । यस हिसाबले हेर्ने हो भने, उपरोक्त देशहरूको तुलनामा नेपालमा शान्ति छ, अमनचयन छ ।
विकासको दृष्टिले हामी भू–राजनीतिक चेपुवामा परेका छौँ भन्न खोज्नुभएको हो ?
हो । छिमेकी देश भारतलाई भारतीयले मात्र चलाएका छन् । बगंलादेशलाई पनि प्रायजसो बगंलादेशीले नै चलाएका छन् । उनीहरूले अरूको हस्तक्षेपलाई त्यति धेरै बेहोर्नुपरेको छैन । तर, हाम्रो देशको परिस्थिति फरक छ । मन्त्रीमण्डल परिर्वतन गर्दा वा नयाँ प्रधानमन्त्री बन्ने वेला कसैको आशिर्वाद चाहिने स्थितिबाट हामी गुज्रेका छौँ । युरोपियन वा भारतको आशिर्वाद नलिई हामीले प्रधानमन्त्रीलाई पाँच वर्षे अवधिभर टिकाउनसमेत सक्दैनौँ ।
हामीले मात्र चलाएको देश नभएकाले कसै–कसैलाई ‘यो देशमा स्थायित्व ल्याउन सकौँला ? यो देश विकासको बाटोमा जाला ? स्थायित्व र विकासको बाटोमा जाँदा कसैले नरुचाउला र सरकार ढल्ने स्थिति आउला कि’ भन्ने डर कतिपयमा छ ।
विकास हुन लाग्यो भने पनि लथालिंगेपन थपिरहने प्रवृत्ति छ । अराजकता सिर्जना गरिन्छ । यस्तो भएपछि हामीले राम्रोसँग विकास गर्न खोज्यौँ भने पनि गर्न सक्दैनौँ । ‘हामीलाई नटेरी सुखै छैन’ भन्ने कतिपय भू–राजनीतिक शक्तिहरूको सोचाइका कारण पनि मुलुकले जति प्रगति गर्नुपर्ने हो, त्यो गर्न नसकेको हो ।
देश चलाउने बाहिरी शक्ति छ भन्ने कुरा आशंका मात्र हो कि सत्य पनि हो ?
यो हल्ला मात्र होइन, शतप्रतिशत साँचो कुरा हो । फलानो नेता वा र फलानो व्यक्तिले भनेको भनेर कुनै व्यक्तिको नाम म यहाँ लिन चाहन्नँ । तर, उच्च राजनीतिक तहमा अन्तक्र्रिया हुँदा शीर्ष तहका नेताहरू नै भन्नुहुन्छ, ‘सानो–सानो कुरामा पनि बाहिरबाट हस्तक्षेप हुन्छ, काम गर्न निकै गाह्रो छ ।’
विदेशी हस्तक्षेप त छँदै छ, हाम्रो देशले अपेक्षित सफलता हासिल गर्न नसक्नुको अर्काे कारण भ्रष्टाचार हो, घुसतन्त्र हो । प्रशासनतन्त्र यति छाडा र भ्रष्ट भयो कि, कर्मचारी नै नेताहरूलाई घुस खान सिकाउने गुरु बने । नेताहरू त अस्थायी हुन्, सत्तामा आउँछन्, दुई तीन वर्ष जिम्मेवारीमा बस्छन्, जान्छन् । तिनीहरूलाई ‘यताबाट यसरी खानुपर्छ है, उताबाट यसरी तान्नुपर्छ है’ भनेर सिकाउनेचाहिँ ब्युरोक्र्याटहरू हुन् ।
हामीकहाँको अर्काे अभाव नेतृत्वको छ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति छन् । राष्ट्रपतिको रूपमा उनले गरेको निर्णय स्वीकार्य हुन्छन् । चीनमा सी जिनपिङ शक्तिशाली छन् । उनी आफूले चाहेको निर्णय गर्न र कार्यान्वयन गर्न सक्छन् । त्यहाँको राजनीतिक व्यवस्थाले नै राष्ट्रपतिलाई शक्तिशाली बनाएको छ ।
तर, हाम्रोमा यो सुविधा छैन । नेपालमा संसद्को बहुमत लिएर सरकार चलाउनुपर्ने स्थिति छ । त्यो बहुमतभित्र भ्रष्ट्राचारीहरू छन्, डकैती ब्याकग्राउन्ड भएका मान्छे पनि छन् । इँटाभट्टाभित्र जिउँदै मान्छे हालेर, जलाएर मार्ने मान्छेहरू पनि संसद्भित्रै रहेछन् । यस्ता मान्छेको समर्थन लिएर देश हाँक्नुपर्ने स्थिति रहेछ । यही कारण पनि सरकारको नेतृत्व गर्नेले आफूले चाहेको कुरा लागू गर्न सक्ने स्थिति छैन ।
सबै नेताहरू खराब छैनन् भन्न खोज्नु भएको हो ?
हो, कोही नेता राम्रा पनि छन्, असल पनि छन् । मनमोहन अधिकारी असर र निष्पक्ष नेता थिए । उनले भ्रष्टाचार र अनियमितताको कल्पना गरेनन् । नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराई र सुशील कोइराला पनि स्वार्थरहित नेता थिए । उनीहरूले पनि भ्रष्टाचार गरेनन् ।
हामीले नेतृत्वका विषयमा नकारात्मक कुरा मात्र गर्नुहुँदैन । सरकारले नराम्रै–नराम्रो गरेको छ भन्ने पक्षमा म छैन । सरकारमा रहेकाहरूका बारेमा नकारात्मक कुरा मात्रै त गर्न सकिएला । तर, त्यसको विकल्प के त ? पुरानै सरकारलाई ल्याउने कुरा त भएन । हामीले के बुझ्नु जरुरी छ भने राजनीतिको विकल्प भनेको राजनीति नै हो ।
निराशाले हामीलाई कहीँ पनि पुर्याउँदैन । सकरात्मक कुरालाई ओझेलमा राखेर नकारात्मक कुरा मात्र गर्नु भनेको युवा वर्गलाई झन् निराश बनाउनु हो । राजनीतिबारे यति धेरै नकरात्मक सन्देश प्रवाह भइरहेको छ कि, त्यसले युवावर्गमा राजनीतिप्रति नै निराशा उत्पन्न भएको छ ।
सन्तुष्ट हुने आधार के हो ?
देशमा सकरात्मक काम भएकै छैन भन्ने होइन । विद्युत् उत्पादनको क्षेत्रमा राम्रै प्रगति भएको समाचार आएका छन् । केही वर्षभित्रै विद्युत् निर्यातसम्म गर्न सक्ने अवस्थामा हामी पुग्नु सकरात्मक पक्ष हो । लोडसेडिङका कारण २–३ वर्षअघिसम्म काठमाडौंका घर–घरमा जेनेरेटर राख्नुपर्ने स्थिति थियो । जेनेटरका लागि प्रतिमहिना पेट्रोल–डिजेलमा १६ अर्ब रुपैयाँ खर्च हुन्थ्यो । तर, जब नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनेर कुलमान घिसिङ आउनुभयो, वर्षौँदेखिको लोडसेडिङ अन्त्य भयो । कुलमानजीजस्ता मानिसहरू पनि त रहेछन् नि देशमा । अनि, हामी किन निराश हुने ? राजनीतिमा पनि यस्तै व्यक्तिहरूको खोजी जरुरी छ ।
संविधान जारी भएपछि हामीले महिनौँसम्म भारतीय नाकाबन्दीको सामना गर्यौँ । संकटको अवस्थामा घर बनाउँदासमेत हामी ‘ब्याकडोर’ राख्छौँ । तर, नाकाबन्दी जस्तो गम्भीर संकटका वेला हामीसँग ब्याकडोर थिएन । ‘ब्याकडोर’का रूपमा चिनसँग जोड्ने बाटो भएको भए त्यति दुःख हुने थिएन । अब त चिनसँग जोड्ने बाटो बन्दै छ, रेलमार्ग निर्माण हुने कुरा छ, यो पनि सकारात्मक पक्ष हो ।
सरकार, राजनीति र नेताप्रति जनतामा देखिएको यति विन असन्तुष्टीको कारण के होला ?
अमेरिकामा पनि कलेजमा गएर भटटट गोली हानेर मानिस मारिदिन्छन् । जबकि, हामी सबैभन्दा शान्ति र सुख पाइने देश अमेरिका–युरोप हो भनेर कल्पना गर्छौँ । तर, त्यही अमेरिकामा किन त्यस्तो भइरहेको छ त ? त्यो पनि असन्तुष्टि नै त होला । असन्तुष्टि नेपालमा मात्र होइन, जताततै छ । युरोपमा पनि छ, अमेरिकामा पनि छ ।
मान्छेसँग जे चिज छैन, त्यही चिजको कल्पना गर्न थाल्दो रहेछ । जब आफूले चाहेको चिज प्राप्त गर्छ, थप कुरा प्राप्त होस् भनेर कल्पना गर्न थाल्छ । कल्पना गरेको चिज प्राप्त नगर्दा बेखुस हुन्छ, असन्तुष्ट बन्छ । हामी हाम्रो देशमा अलिक बढी दुःख छ भन्ने ‘फिल’ गर्छाैँ । तर, कुनै न कुनै प्रकारको दुःख र कठिनाइ हामीले विकसित र सुखी ठानेका मुलुकमा पनि छ । युरोपमा पनि चिसो मौसम र एक्लोपनका कारण त्यहाँजस्तो ‘डिप्रेसन’ अन्यत्र कहीँ छैन । सुख पैसा तिरेर किन्ने चिज होइन, सित्तैमा पाइन्छ । मात्र सुखी र सन्तुष्ट हुन सिक्नुपर्यो ।
तुलनात्मक रूपमा पहिलेको भन्दा अहिलेको नेपाल खुसी छ, सुखी छ । छिमेकी चीन र भारतले गरेको प्रगतिबाट हामी लाभान्वित भएका छौँ ।
पहिले–पहिले फाटेको लुगा दिए पनि मानिसहरू खुसी भएर लगाउँथे । जब मोटरसाइकल लिएर म काभ्रेको आफ्नो गाउँमा जान्थेँ, मोटरसाइकललाई अनौठो चिज ठानेर गाउँका मानिस झ्याल–झयालबाट हेर्थे । तर, अहिले कालिकोटजस्तो दुर्गम ठाउँमा पनि घर–घरमा मोटरसाइकल छन् ।
आर्थिक, सामाजिक रूपमा धेरै परिर्वतनहरू भएका छन् । पहिले महिलाहरू बोल्नै सक्दैनथे । अहिले बोल्न सक्ने भएका छन् । हामी ‘बलात्कार बढिरहेको छ’ भन्छौँ । ३० बर्षअघि पनि महिला बलात्कृत हुन्थे । तर, महिलामाथि हुने यस्ता अपराधका घटना बाहिर आउँदैनथे । महिलाहरूमा आएको चेतनाका कारण यस्ता अपराधका घटना बाहिर आउन थालेका छन् । दोषीहरू कठघरामा उभ्याइएका छन्, सजायँ पाएका छन् । पहिले छुवाछुतले सीमा नाघेको थियो । अहिले केही हदसम्म भए पनि छुवाछुतमा कमी आएको छ । सन्तुष्ट केमा हुने, त्यो बाटो अब हामी आफैंले खोज्नुपर्ने वेला आएको छ । ‘यो पनि भएन, त्यो पनि भएन, देश खत्तम भयो’ मात्र भनिरहने हो भने के गर्ने त ? हामी सबै विदेशिएर समस्याको समाधान हुने त होइन होला । अमेरिका पुगेको नेपालीले पनि ‘यहाँ सोचेजस्तो सुख रहेनछ, त्यहाँ पनि रूखमा डलर नफल्ने रहेछ, गाह्रो रहेछ’ भन्छन् । त्यसैले सुख खोज्ने यहीँ हो ।
नकारात्मक भावना बढाउने कारण के होला ?
घरमै बसी–बसी हामी इन्टरनेट र टेलिभिजनका माध्यमबाट अमेरिका–अस्ट्रेलियामा भएको प्रगति देख्छौँ । त्यहाँका ठूलाठूला ब्रिजहरू, रोडहरू देख्छौँ । हामीलाई पनि तत्कालै त्यस्तै चाहिन्छ । तर, ती देशहरू यो बिन्दुमा पुग्न कति वर्ष लाग्यो भन्नेतर्फ हामी ध्यान दिँदैनौँ । हाम्रो सीमा र विकासका लागि लाग्ने समयको ख्याल नगरी हामी अपेक्षा मात्र राख्छौँ । हामीमा नकारात्मकता बढ्नुको एउटा कारण यो हो । जनतामा निराशा बढ्नुको मूल कारण बढ्दो भ्रष्टाचार हो । केही नेताहरूको जीवनस्तर यसरी बदलियो कि यस्तो देखेपछि जनतामा आक्रोश पैदा हुनु स्वभाविक हो । सडककै कुरा गरौँ, सडक बनाइँदा पिच गरिँदैन, मात्र जलप लगाउने काम गरिन्छ । जलप लगाएको बाटोमा एक महिनापछि खाल्टो परिहाल्छ । नेता, कर्मचारीतन्त्र र ठेकेदारबीचको मिलेमतोमा कमसल सडक बनाउने काम हुन्छ । यस्तो भए पनि जनतामा आक्रोश हुनु स्वाभाविक हो ।
हामी महँगो शुल्क तिरेर स्कूलमा बालबच्चा भर्ना गर्छौँ । तर, स्कुलका बसबाट चाउचाउको खोल, फ्रुटीको बट्टाहरू बसको झ्यालबाट खसिरहेको देखिन्छ । हाम्रा स्कुलहरूले आफ्ना विद्यार्थीलाई यसरी सडकमा फोहोर फाल्न हुँदैन भन्ने शिक्षा पनि दिँदा रहेनछन् । त्यसैले, हाम्रा आनीबानी पनि सुध्रन जरुरी छ ।
समाज र राजनीतिलाई मार्गनिर्देशन गर्न कला र कलाकारको पनि त भूमिका हुन्छ । यो सवालमा के कलाकार चुकेका हुन् ?
हाम्रो भूमिका पनि अपुग छ । तर, सत्य के पनि हो भने, हामीले भन्दैमा केही हुँदैन । हामी राज्य होइनौँ । हामी कसैलाई थुन्न सक्दैनौँ । राजनीतिक दललाई, सरकारलाई, समाजलाई भन्न त हामीले कति भनेका छौँ कति ? युट्युब खोलेर हेर्नु भए हुन्छ, हामीले केही भन्न बाँकी राखेका छैनौँ ।
मलाई लाग्छ, कानुन नै यस्तो बनाउनुपर्यो कि गल्ती गर्न सबै डराउन् । तर, अहिलेसम्मको हाम्रो वास्तविकता के हो भने जोसँग पैसा छ, उसले जतिसुकै ठूलो गल्ती गरे पनि उ सम्मानित भइरहन्छ । जस्तोसुकै भ्रष्टाचारीलाई पनि हामी नमस्ते गर्छौँ ।
कस्तो सजाय हुनुपर्छ जस्तो लाग्छ ?
हाम्रो देशको कानुन फितलो छ । कानुन कडा हुनुपर्छ, तर मृत्युदण्डसम्मको कानुन भन्न खोजेको होइन । त्यस्तो कानुन भयो भने त्यसको गलत प्रयोग हुनसक्छ, जसले गर्दा निर्दोषले समेत ज्यान गुमाउनुपर्ने हुनसक्छ । पैसाले कानुन किन्न पाइने देशमा अबोध मान्छे त्यत्तिकै फस्न सक्छन् । १० वर्षपछि थाहा हुन्छ कि, त्यो मान्छे निर्दाेष रहेछ भनेर ।
मान्छे मारेर समस्याको समाधान हुँदैन । मृत्युदण्ड पाएपछि त सबै कुरा सकिन्छ । त्यो व्यक्तिले बाँचेरै देख्न पाओस् कि आफूले गरेको गल्ती कारण जीवन खत्तम भयो । मृत्युदण्ड भन्दा जन्मकैद ठीक हुन्छ ।
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
अहिले म र मदन दाइ (मदनकृष्ण श्रेष्ठ) मिलेर फिल्म बनाउने योजना बनाउँदै छौँ । अब बन्ने फिल्म सामाजिक विषयवस्तुमा आधारित हुनेछ, राजनीतिक होइन ।
आवश्यकता त राजनीतिक सन्देश दिने खालकै फिल्मको होइन र ?
राजनीतिक सिनेमाले जनतालाई त्यति छुँदैन । सिनेमा निर्माण महंगो मात्र हुन्छ । जनताहरू राजनीति र नेताको प्रसंशा गरेको त सुन्न चाहँदैनन्, नेतालाई गाली गरेको पनि सुन्न चाहँदैनन् । राजनीति भन्ने चिज नै मन नपर्ने विषय भएको छ उनीहरूका लागि । त्यसैले राजनीतिक फिल्म चल्ने वातावरण छैन । मैले अभिनय गरेको ‘बलिदान’ पछि धेरै फिल्म बने । तर, बलिदान जस्तो कुनै पनि राजनीतिक फिल्म सफल हुन सकेनन् । ‘बलिदान’ निर्माण हुँदा परिर्वनका लहरहरू फैलिँदै थिए । पञ्चायतको अन्त्य र बहुदलीय व्यवस्था भर्खर–भर्खर सुरु भएको अवस्था थियो । त्यसैले, फिल्म सफल भयो । त्यसपछिका राजनीतिक फिल्म त्यति सफल हुन सकेनन् ।
‘मदनदाइ’ र तपाईँले एउटै पीडाबाट गुज्रिनुपर्यो । दुबै जनताले असमयमै जीवनसंगिनी गुमाउनुपर्यो । भेटघाट हुँदा वियोगान्त कुरा कत्तिको हुन्छ ?
हो, हामी दुवैको जीवनमा एकै किसिमको घटना भयो । हामी दुवैले असमयमै श्रीमती गुमायौँ । वेला–वेला यस विषयमा हामीबीच कुरा हुन्छ । मदन दाइ मसँग भन्ने गर्नुहुन्छ, ‘तपाईंहरूको जीवन चल्यो, राम्रो भयो । यसैमा मलाई खुसी लागेको छ ।’
मेरी श्रीमतीको निधन हुँदा म ५२ वर्षको थिएँ । परिवारसँग बस्न रुचाउने मान्छे म । एक्लै बस्दा छोराहरूलाई मेरो बारेमा चिन्ता हुन्थ्यो । त्यही कारण मैले निर्णय गरेँ, ‘निराश भएर बस्नुहुन्न, त्यसैले बाँकी जीवन काट्न जीवनसाथी चाहिन्छ ।’ त्यसैले, मैले आफूजस्तै एकल महिलासँग बिहे गरेँ । अहिले मेरो जीवनको रथ राम्रैसँग अघि बढिरहेको छ । तर, मदनदाइको उमेर धेरै नै भइसक्यो । स्वास्थ्य पनि खराब छ । उहाँका लागि फेरि बिहे गरेर नयाँ जीवन सुरु गर्न गाह्रो छ । तर, खुसीको कुरा के छ भने, उहाँका छोरा–बुहारीहरूले उहाँको राम्रो हेरविचार गरिरहनु भएको छ ।