आयोजक सहारा क्लबले २५ औँ संस्करणको पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उपाधि जितेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा भएको फाइनल खेलमा आयोजक सहारा क्लबले जावलाखेल युथ क्लबलाई २—० को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
सहाराको जितमा खेलको २५ औँ मिनेटमा मुकुन्द कुमार न्यूरेले एक गोल गर्नु भयो भने खेलको ७३ औँ मिनेटमा तय डेनिएल वडारुले गोल गरी जित सुनिश्चित पार्नु भएको हो । सहाराले १२ वर्ष अघि पनि सो उपाधि जितेको थियो ।
१४ वर्ष अघि उपविजेता जावलाखेल यस पटक पनि उपविजेतामै सीमित भयो । जावलाखेलका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले आफ्नो एक विदेशी भरपर्दा खेलाडी निकोलसलाई सहाराले रेकी गर्नुले आफ्नो रणनीति अनुसार खेल प्रदर्शन हुन नसक्दा पराजित हुनु परेको बताउनुभयो । अ
हिमश्री फुड्सको उत्पादन ‘रारा’ तयारी चाउचाउको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा विजेताले १४ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा सहारा क्लबका मुकुन्द कुमार न्यूरे उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँलाई टेल्जी कम्पनीको इलेक्ट्रिक स्कुटर प्रदान गरिएको छ । प्रतियोगितामा अनुशासित टिमको उपाधि उज्बेकिस्तानको आबा फुटबल क्लबलाई प्रदान गरिएको थियो ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि प्लानिङ ब्वाइज युनाइटेडका पापा इबोउ केबे (३ गोल) ले हात पार्नुभयो । उत्कृष्ट गोलरक्षक सहारा क्लबका टिकेन्द्र थापा, उत्कृष्ट डिफेन्डर सहाराकै जय दिनियल बदारु घोषित हुनुभयो । उत्कृष्ट मिडफिल्डर जावलाखेलका बुबाकर सिसोको तथा उत्कृष्ट स्ट्राइकर जावलाखेलकै धर्बेन्द्र कुँवर घोषित हुनुभयो । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकको उपाधि सहारा क्लबका सुनिल राना मगरले प्राप्त गर्नुभयो । उदीयमान खेलाडीको उपाधि पनि सहाराका मुकुन्द कुमार न्यूरेले नै हात पार्नुभयो ।
यसैगरी, अन्य विधामा उत्कृष्ट हुने खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । विजेता खेलाडीहरूलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्स्यानी, हिमश्री फुड्स प्रा.लि.का कार्यकारी निर्देशक प्रकाश केसी, सहारा यूकेका अध्यक्ष सारदा गुरुङ, सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेल, सहारा हङकङका निवर्तमान अध्यक्ष दीपक गुरुङ, तमु धि यूकेका सल्लाहकार ले.रि.कुसाङ गुरुङ, प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा ३ विदेशी टोलीसहित १२ टिमको सहभागी भएको आयोजक क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिएका दिनुभयो । रासस






















