नेपाल स्काउटको स्थापना दिवस भव्यरुपमा मनाइयो

नेपाल स्काउटको ७५औँ स्थापना दिवसको अवसरमा राष्ट्रिय प्रधान कार्यालयमा मूल समारोह तथा प्रदेश तथा स्थानीय तहहरूमा विविध कार्यक्रमहरूको आयोजना गरी विशेष रूपमा मनाइएको छ।
राष्ट्रिय प्रधान कार्यालय परिसरमा आयोजित विशेष मूल समारोह कार्यक्रम माननीय शिक्षा तथा खेलकुद मन्त्री तथा प्रमुख स्काउट श्री सस्मित पोखरेलज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
निर्देशक श्री अर्पण कार्कीज्यू को अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय परिषद्का सदस्यहरू, पूर्व प्रमुख आयुक्तहरू, प्रदेश प्रमुख आयुक्तहरू, राष्ट्रिय प्रशिक्षकहरू, सहायक राष्ट्रिय प्रशिक्षकहरू, स्काउटरहरू तथा कब–ब्राउनी, ब्वाय–गर्ल स्काउट, रोभर–रेन्जरलगायत विभिन्न तहका स्काउट सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय शिक्षा तथा खेलकुद मन्त्री तथा प्रमुख स्काउट श्री सस्मित पोखरेलज्यूले नेपाल स्काउटले बालबालिका, किशोरकिशोरी तथा युवायुवतीहरूमा अनुशासन, नेतृत्व विकास र सेवाभावको प्रवर्द्धन गर्दै जिम्मेवार र समाजसेवी नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो। साथै, मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि, स्वावलम्बन तथा सामुदायिक सेवामार्फत युवा पुस्ताको समग्र विकासमा नेपाल स्काउटले निरन्तर सकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनुभयो।
उक्त अवसरमा प्रमुख स्काउट श्री सस्मित पोखरेलज्यूले नेपाल स्काउटको वार्षिक प्रतिवेदन पुस्तिका २०२५–२०२६ को विमोचन गर्नुभएको थियो। उहाँले नेपाल स्काउटलाई नयाँ उद्देश्य र स्पष्ट दिशाका साथ अघि बढाउन मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै संस्थाका आधारभूत समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारका विषयमा गृहकार्य भइरहेको जानकारी दिनुभयो।
७५ वर्षको गौरवमय यात्रालाई स्मरण गर्दै आयोजित स्थापना दिवस समारोहले स्काउटिङ‌को मूल्यमान्यता, सेवा, नेतृत्व र युवाको सशक्तीकरणप्रतिको नेपाल स्काउटको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। रासस

ताजा खबर