जनस्वास्थ्य विज्ञ – डा. अरुणा उप्रेती
प्रायः मानिसहरू मलत्याग, दिसा वा शौच जस्ता विषयमा खुला रूपमा छलफल गर्न रुचाउँदैनन्। जब कि, मानव स्वास्थ्यका लागि यो एक अति नै महत्त्वपूर्ण विषय हो।
मलत्याग प्रक्रिया सुचारु भएन भने शरीरमा अनेकौँ किसिमका स्वास्थ्य समस्याहरू देखा पर्छन्। भोजन गर्ने जुनसुकै प्राणी (मानिस वा पशु) ले मलत्याग गर्छ नै। पशुहरूले जथाभाबी मलत्याग गर्छन् भने मानिसले यसका लागि विशेष ठाउँ र व्यवस्थापन गरेको हुन्छ। परापूर्वकालमा मानिसहरू वन-जङ्गल वा नदी किनारमा टुक्रुक्क बसेर मलत्याग गर्थे। अहिले पनि विश्वका धेरै मानिसहरू त्यसरी नै शौच गर्छन्।
यसरी खुला ठाउँमा टुक्रुक्क बसेर शौच गर्नुलाई असभ्य मानेर आधुनिक युगमा घरभित्रै वा घरबाहिर शौचालयको व्यवस्था गर्न थालियो। शौचालयभित्र पनि कतिपयले टुक्रुक्क बसेर शौच गर्ने (पूर्वीय शैलीको प्यान) व्यवस्था गरेका हुन्छन् भने कतिपयले कुर्सीमा जस्तै बस्न मिल्ने ‘कमोड’ (पश्चिमा शैली) को प्रयोग गर्छन्।
पूर्वीय देशहरूमा टुक्रुक्क बसेर मलत्याग गर्नु सामान्य र परम्परागत प्रक्रिया हो। तर, यसरी बस्नु स्वास्थ्यका लागि कति लाभदायक छ भन्नेबारे प्रायः सोचिँदैन। सायद त्यसैले होला, अचेल पूर्वीय प्यानको साटो पश्चिमा शैलीको कमोड राख्ने र प्रयोग गर्ने चलन तीव्र रूपमा बढ्दो छ।

टुक्रुक्क बसेर शौच गर्दाका स्वास्थ्य फाइदाहरू
टुक्रुक्क बसेर मलत्याग गर्दा शरीरको प्राकृतिक बनावट अनुकूल हुन्छ। यसो गर्दा पेटको मांसपेशीलाई घुँडाले थिच्छ र आन्तरिक अङ्गहरूको प्राकृतिक मसाज हुन्छ, जुन पेटको स्वास्थ्यका लागि निकै लाभदायक छ। सिड्नी विश्वविद्यालयका पेट रोग विशेषज्ञ डा. हेरी भिन्सेन्ट भन्छन्— “पूर्वीय तरिकाको शौचालय (जसलाई टर्किस शौचालय पनि भनिन्छ) मा टुक्रुक्क बसेर शौच गर्दा पुठ्ठाको मांसपेशी बलियो हुन्छ र मल पनि सहजै निस्कन्छ। साथै, कमोडको तुलनामा यसरी शौच गर्दा पानी पनि कम खर्च हुन्छ।”
जापान, चीनलगायत एसिया र अफ्रिकाका धेरै देशहरूमा (विशेष गरी ग्रामीण क्षेत्रमा) आधुनिक कमोडको सट्टा पूर्वीय तरिकाकै शौचालय प्रयोग गरिन्छ। तर, आधुनिक शहरी घरहरूमा भने यस्ता शौचालयको प्रयोग घट्दै गएको छ। यद्यपि, यसका स्वास्थ्यसम्बन्धी फाइदाहरू र विभिन्न देशका पर्यटकहरूको सहजतालाई ध्यानमा राख्दै अहिले धेरै ठाउँमा पूर्वीय शैलीका शौचालय बनाउन पुनः महत्त्व दिन थालिएको छ।
मध्यपूर्वी क्षेत्रका कतिपय घरहरूमा दुवै थरिका शौचालय बनाएर आवश्यकतानुसार प्रयोग गर्ने गरिन्छ। विभिन्न देशका पर्यटक आउने फ्रान्सका केही सार्वजनिक शौचालयहरूमा पनि पूर्वीय शैलीका प्यानहरू राखिएका छन्।
अर्कोतर्फ अस्ट्रेलिया, क्यानडा, अमेरिका र न्युजिल्यान्डजस्ता देशहरूमा भने पूर्वीय तरिकाको शौचालय एकदमै कम पाइन्छ। ती देशका कुनै ठाउँ— जस्तै अस्ट्रेलियाको मेलबर्न विश्वविद्यालय, न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालय वा संयुक्त राज्य अमेरिकाको येलोस्टोन राष्ट्रिय निकुञ्जमा पूर्वीय शैलीको शौचालय बन्यो भने त्यसले राष्ट्रियस्तरका सञ्चारमाध्यममा समाचारको रूप लिन्छ।
जापानमा पहिले पूर्वीय शैलीकै प्रयोग हुन्थ्यो। तर सन् १९७६ पछि आधुनिक कमोडले स्थान लिएपछि शहरी क्षेत्रमा यो तरिका विस्तारै हराउँदै गयो। एक अध्ययनअनुसार सन् २०१५ मा त जापानका शौचालय बनाउने कारखानाहरूले जम्मा १ प्रतिशत मात्र पूर्वीय तरिकाका प्यान उत्पादन गरेका थिए।
पूर्वीय र पश्चिमा शैलीका फाइदा-बेफाइदा
टुक्रुक्क बसेर मलत्याग गर्दा दिसा सजिलै निष्कासन हुन्छ र पुठ्ठाको मांसपेशी बलियो हुन्छ। पेटको मांसपेशीमा स्वाभाविक दबाब पर्ने भएकाले धेरै कन्हिनु पर्दैन। अर्कातिर, कमोडमा बस्दा पेट र पुठ्ठाको मांसपेशीमा त्यो प्राकृतिक बल पुग्दैन।
तात्कालिक रूपमा घुँडा दुखेर टुक्रुक्क बस्न नसक्ने व्यक्तिहरूका लागि कमोड सहज हुन सक्छ। तर घुँडाको समस्या ठीक भएपछि पुनः टुक्रुक्क बसेर नै शौच गर्नु उपयुक्त हुन्छ। योगशास्त्रमा पनि यसरी बस्ने प्रक्रियालाई ‘मलासन’ भनिएको छ, जुन स्वास्थ्यका लागि उत्तम मानिन्छ।
पश्चिमा देशका मानिसहरू प्रायः टुक्रुक्क बस्दा वा पलेँटी कस्दा घुँडा खिइन्छ वा दुख्छ भन्ने सोच्छन्। वास्तवमा दक्षिण एसियालीहरूको सानैदेखि टुक्रुक्क बस्ने बानी हुन्छ— जस्तै खाना खाँदा, लुगा धुँदा वा अन्य घरायसी काम गर्दा। पश्चिमाहरूको दैनिक जीवनमा यसरी बस्ने अभ्यास नभएकाले वयस्क भएपछि एक्कासी टुक्रुक्क बस्दा घुँडा दुख्नु स्वाभाविक हो। तर, आधुनिक अनुसन्धानहरूले यदि घुँडाको गम्भीर समस्या छैन भने मलत्याग गर्दा वा सामान्य अवस्थामा पनि टुक्रुक्क बस्नुलाई नै बढी स्वस्थकर मानेका छन्।
गर्भवती महिलाहरूले टुक्रुक्क बसेर मलत्याग गर्दा पाठेघरमा असर पर्दैन र कब्जियत हुने सम्भावना पनि कम हुन्छ। गर्भवती अवस्थामा कब्जियत हुनु अनेकौँ जटिलताको कारण बन्न सक्छ। यदि घरमा पश्चिमा शैलीको कमोड नै छ भने पनि शौच गर्दा खुट्टामुनि सानो ‘स्टुल’ वा टेबल राखेर खुट्टा अल्गो बनाउन सकिन्छ। यसो गर्दा घुँडा र फिलाको दबाब पेटमा पर्छ र मलत्याग सहज हुन्छ।
यसबाहेक, पूर्वीय शैलीको चर्पीमा शौच गर्दा शरीरको तल्लो भाग कुनै पनि सार्वजनिक वस्तुसँग छोइँदैन, जसले गर्दा सङ्क्रमणको जोखिम कम हुन्छ। जबकि कमोडमा अघिल्लो व्यक्ति बसेको ठाउँमै बस्नुपर्ने भएकाले छालाजन्य वा अन्य सङ्क्रमणको जोखिम हुन्छ। पानीको खपतका दृष्टिले पनि पूर्वीय प्यान सफा गर्न कम पानीले पुग्छ। अतः पूर्वीय तरिकालाई असभ्य वा असहज मान्नुपर्ने कुनै कारण छैन।
हाम्रो अभ्यास र अनुसन्धानको निष्कर्ष
करिब २० वर्षअघि मेरी अमेरिकी साथी टिफेन बोनेटी (जो एक स्वास्थ्यकर्मी पनि हुन्) ले पूर्वीय शैलीको शौचालयको प्रशंसा गर्दै भनेकी थिइन्— “हाम्रो देशमा यसरी टुक्रुक्क बसेर शौच गर्ने चलन नभएकाले यस्ता प्यानहरू बन्दैैनन्। सक्ने भए त म यहाँबाट शौच गर्ने भाँडो नै अमेरिका लैजान्थेँ।”
स्वास्थ्यकर्मी भएकाले उनले यसको महत्त्व बुझेकी थिइन्। तर हामी भने अझै पनि पश्चिमा तरिकालाई नै उत्तम मान्छौँ, किनभने पश्चिमाहरूले अपनाएको हरेक कुरा ठीक हुन्छ भन्ने मानसिकता हामीमा हाबी छ। आफ्नो उपयोगी तरिका हुँदाहुँदै पनि महत्त्व नबुझ्नु ‘नजिकको तीर्थ हेला’ भने जस्तै हो।
अहिले विभिन्न अध्ययनहरूले पूर्वीय शैलीको शौच गर्ने तरिका स्वास्थ्यका दृष्टिले बढी लाभदायक रहेको प्रमाणित गरिसकेका छन्। सन् २०२० मा भारतीय आयुर्वेदिक डाक्टर हितेन्द्र सुरी और शल्य चिकित्सक डा. कामप्रितले मलासनमा बसेर शौच गर्दा हुने फाइदाबारे एक अनुसन्धान प्रतिवेदन नै प्रकाशित गरेका थिए। भारतमा आधुनिक कमोडको प्रयोग बढेसँगै कब्जियतका रोगीको सङ्ख्या पनि ह्वात्तै बढेको अध्ययनले देखाएको छ। उक्त अनुसन्धानका क्रममा करिब २२ प्रतिशत (प्रायः २५ करोड) भारतीयमा कब्जियतको समस्या पाइएको थियो।
त्यस्तै अर्को अध्ययनअनुसार पेट गडबड हुने, कब्जियत हुने, आउँ पर्ने वा पखाला लाग्ने जस्ता समस्या ती क्षेत्रमा बढी पाइयो जहाँ अस्वस्थकर खानपानका साथै आधुनिक तथा पश्चिमा शैलीको शौचालय प्रयोग गरिन्थ्यो।
निष्कर्ष
हाल विश्वमा करिब ४ अर्ब मानिसहरू पूर्वीय तरिकाले टुक्रुक्क बसेर शौच गर्छन्। एसिया, अफ्रिका र मध्यपूर्वका बासिन्दाहरूमा यो हजारौँ वर्षदेखि चलिआएको स्वस्थकर अभ्यास हो। यसको महत्त्व बुझेर नै अहिले कतिपय मानिसहरूले आफ्ना आधुनिक घरहरूमा दुवै थरीका शौचालय बनाउन थालेका छन्।
आफ्नो स्वास्थ्यको रक्षाका लागि पश्चिमा अन्धअनुकरण छोडेर हाम्रा परम्परागत र वैज्ञानिक अभ्यासहरूलाई निरन्तरता दिनेबारे सोच्ने बेला अब भइसकेको छ।
























