भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४७ सम्ममा भारतलाई विकसित राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भारतको ८० औँ स्वतन्त्रता दिवसका अवसरमा शनिबार नयाँ दिल्लीको ऐतिहासिक लालकिल्लाबाट देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
भारतले अगस्त १५ मा स्वतन्त्रता दिवस मनाउने गर्छ । सन् १९४७ अगस्त १५ मा भारत डेढ सय वर्षभन्दा लामो बेलायती उपनिवेशबाट मुक्त भएको थियो । लालकिल्लाबाट प्रधानमन्त्री मोदीको लगातार यो १३ औँ पटकको सम्बोधन हो । उहाँले यस पटकको ७६ मिनेट लामो सम्बोधन सुरुवात नै ‘बन्दे मातरम्’ को नाराका साथ गर्नुभएको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ ।
यस वर्षको मुख्य नारा ‘विकसित भारत २०४७ का लागि युवा शक्ति’ रहेको छ । सन् २०४७ सम्म (स्वतन्त्रताको १०० वर्ष पुग्दा) भारतलाई पूर्ण रूपमा ‘विकसित राष्ट्र’ बनाउने सङ्कल्पलाई प्रधानमन्त्री मोदीले पुनः दोहो¥याउनुभयो । विगतका केही दशकमा देशले सोचे जस्तो गति लिन नसके पनि अब भारतलाई रोक्न नसकिने उहाँले बताउनुभयो । पाँच दशकमा हुन नसकेका कामहरू अब आगामी पाँच वर्षमा पूरा गरिने दाबी उहाँको थियो ।
भारतलाई तीव्र गतिमा विकसित अर्थतन्त्र बनाउन मोदीले ‘सप्तधारा’ नामक सातबुँदे सुधार योजना घोषणा गर्नुभयो । यस अन्तर्गत हरित अर्थतन्त्र, ब्लु अर्थतन्त्र, नवीकरणीय ऊर्जा, साइबर सुरक्षा जस्ता प्रमुख स्तम्भहरू समेटिएका छन् । उहाँले आगामी एक वर्षमा एक करोड युवालाई एआई सिप विकाससम्बन्धी निःशुल्क तालिम दिइने घोषणा गर्नुभयो ।
भारत आत्मनिर्भर बन्ने
यसै वर्षको अन्त्यसम्ममा ‘मेड इन इन्डिया’ चिपहरू बजारमा आउने र भारत यसमा आत्मनिर्भर बन्ने दाबी गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारत अब अन्य देशमा निर्भर रहन हुँदैन । आत्मनिर्भरता नै विकसित भारतको जग हो ।”
उहाँले विगतमा ९९ प्रतिशत समुद्री तटलाई ‘नो–गो एरिया’ (अनुसन्धानका लागि प्रतिबन्धित) बनाइएकोमा अब त्यसलाई ‘गो–अहेड एरिया’ मा बदलेर गहिरो समुद्री अन्वेषणका लागि ‘समृद्ध मन्थन’ पहल सुरु गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्री मोदीले ऊर्जा क्षेत्रमा सौर्य ऊर्जा क्षमता सन् २०१४ को २ गिगावाटबाट बढेर १६० गिगावाट पुगेको र ९० वर्षमा ३० प्रतिशत मात्र भएको रेलवे विद्युतीकरण विगत एक दशकमा ७० प्रतिशत थप गरी पूरा गरिएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
ग्रामीण महिलालाई सशक्त बनाउन सुरु गरिएको ‘लखपति दिदी’ योजना अन्तर्गत तीन करोड महिलालाई लखपति बनाउने लक्ष्य पूरा भइसकेको छ । अब नयाँ लक्ष्यका साथ ग्रामीण अर्थतन्त्र बलियो बनाउन छ करोड महिलालाई ‘लखपति दिदी’ बनाइने घोषणा गरिएको छ ।
कोरोना महामारी तथा रुस–युक्रेन र पश्चिम एसियाको युद्धका बेला भारतमा मल, तेल र ग्यासको अभाव हुन्छ भनी डर फैलाउने तत्वहरूको उहाँले आलोचना गर्नुभयो । प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य आकासिए पनि सरकारले भारतीय किसानलाई अत्यन्तै सस्तो मूल्यमा मल उपलब्ध गराएको दाबी गर्नुभयो ।
नक्सलवादी र माओवादीबाट बर्बादी
देशमा युवालाई बहकाउन खोज्ने ‘विवेकहीन नक्सलवादी’ हरूबाट सजग रहनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । प्रधानमन्त्री मोदीले नक्सलवाद र माओवादी विचारधाराले लाखौँ युवाको भविष्य बर्बाद गरेको तथा अभिभावकका सपना चकनाचुर पारेको दाबी गर्दै भन्नुभयो, “चार दशकसम्म नक्सलवादले भारतको ठुलो भूभाग र ठुलो जनसङ्ख्यालाई बन्दुकको बलमा दबाएर राख्यो । संविधानको धज्जी उडाइयो । नक्सलवादी हिंसाविरुद्धको अभियानमा ३५ सयभन्दा बढी प्रहरी तथा सुरक्षाकर्मी सहिद भए । अब नक्सल तथा माओवादी हिंसा अन्तिम अवस्थामा पुगेको छ । जङ्गलमा हतियार बोकेका नक्सलीलाई समाप्त गर्न सफलता मिलेको छ । हतियारधारी नक्सली त गए तर दिमागी नक्सली अवसरको खोजीमा छन् ।”
प्रधानमन्त्री मोदीले १२ वर्षमा २५ करोड मानिस गरिबीबाट बाहिर आएको र भारतले तीव्र आर्थिक विकास गरेको दाबी गर्नुभयो । चिप, कृत्रिम बौद्धिकता र डेटा सेन्टरका लागि ठुलो मात्रामा ऊर्जा आवश्यक पर्ने भन्दै उहाँले ऊर्जा सुरक्षा महत्वपूर्ण रहेकाले परमाणु ऊर्जामा आत्मनिर्भर बन्न भारतले कदम अगाडि बढाएको छ भन्नुभयो ।
उत्पादन र गुणस्तरमा जोड
प्रधानमन्त्री मोदीले भारतको उत्पादन क्षेत्रलाई अझ विस्तार गर्नुपर्ने बताउँदै साना पुर्जादेखि ठुला मेसिनरीसम्म भारतमै उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । डिजाइनदेखि उत्पादनसम्मको सम्पूर्ण मूल्य शृङ्खलामा भारतले विश्वको विश्वास जित्नुपर्ने उहाँको तर्क थियो । “लागत, गुणस्तर र परिमाणका आधारमा विश्वस्तरीय मापदण्ड पूरा गर्नु पर्छ । भारतको उत्पादनको पहिचान ‘शून्य दोष’ हुनु पर्छ । उत्पादकहरूलाई गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन,” उहाँले भन्नुभयो । भाषणको अन्त्यमा उहाँले स्वतन्त्रता आन्दोलनका नेताहरूले देखेको सपनाबाट प्रेरणा लिएर भारतलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
स्वतन्त्रता सङ्घर्षमा नेपालको योगदान
यसैबिच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय स्वतन्त्रता सङ्घर्षमा नेपालको योगदान र बलिदान महत्वपूर्ण रहेको बताउनुभयो । ८० औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालबाट प्राप्त सहयोगको स्मरण गर्दै राजदूत श्रीवास्तवले भन्नुभयो, “कठिन सङ्घर्षका क्रममा नेपालबाट प्राप्त सहयोग र बलिदानलाई भारतले सधैँ स्मरण गरिरहने छ ।” उहाँले दुई देशबिच सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक तहमा समेत लामो समयदेखि निकट सम्बन्ध रहँदै आएको स्मरण गर्नुभयो ।
भारतीय आन्दोलनलाई समर्थन
परराष्ट्र मन्त्रालयका पूर्वसचिव डा. मदनकुमार भट्टराईले भारतलाई ब्रिटिस शासनमा बसेको देख्न नचाहेरै नेपालले पनि स्वतन्त्रताका पक्षमा लडेको बताउनुभयो । उहाँका अनुसार नेपालसँग हारेको ब्रिटिस इन्डिया सरकारसँग नेपालको सम्बन्ध राम्रो थियो । सन् १९४५ मा दोस्रो विश्वयुद्धपछि ब्रिटिस अधिनायकबाट मुक्त हुन विश्वका विभिन्न मुलुकले अभियान थालेसँगै भारतमा आन्दोलन सुरु भएको थियो । भारतका तत्कालीन अस्थायी सरकारका उपाध्यक्ष जवाहरलाल नेहरूको स्वतन्त्रता सङ्ग्राम, डा. सुवासचन्द्र बोसको आजाद हिन्द सेनाको आन्दोलन र महात्मा गान्धीको भारत छोडो तथा सत्याग्रह आन्दोलनमा नेपालका उच्च नेतृत्वको पूर्ण समर्थन थियो ।
भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्य नेपाल–भारत सम्बन्धको बलियो मियो सन् १९४७ को भारत स्वतन्त्रता आन्दोलन र त्यसमा नेपालका नेताको सहयोग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतको स्वतन्त्रता सङ्ग्राम नेपालका लागि पनि सहायक बन्यो, नेताहरूले प्रजातान्त्रिक आन्दोलनका लागि आवश्यक पाठ सिके र पछि नेपालमा राणाविरोधी आन्दोलन सफल भयो ।” रासस




















