शोभा पाण्डेय\ सिलुवाल
अम्बरमा चङ्गा उड्यो फुलिराछ काँस
पर्देशीको मनमा भने विरहको बास ।
गाउँतिर सोध्छिन् आमा- कहिले आउँछौ घर ?
देशको हाल उस्तै देख्छु छैन मलाई भर।
राहदानी हातमा लिई रुँदै हिँड्नुपर्ने
आफ्नै देशमा भविष्य खोइ? कति दुःख सहने?
नेताहरू गफ छाँट्छन् उस्तै छ नि थिति
जनताको दुख्ने मन बुझ्ने भइन रीति ।
दिनदिनै महँगीले ढाडै यहाँ भाँच्यो
आँसु पिई नेपालीको दुखेको मन बाँच्यो ।
पिङ खेल्ने आँगनमा रुन्छ मेरो मन
खल्ती रित्तो भारी छाती दशैँलाई मान्न।
पहिरोले घर बगायो बाढी आयो खोला
विपत्तिमा परेकालाई कसले हेरिदेला ?
सडक ,पुल भत्किएको छैन जाने ठाउँ
आँसुमा नै डुबिरेछ हाम्रो प्यारो गाउँ ।
दुर्गा माता ! आशीर्वाद देऊ नेपालीलाई
रोग , शोक,भोक हर दुःखी जति सबलाई ।
विपत्ति यो हटि जाओस् मलम छिट्टै लाओस्
नेपाली सब खुसी होउन् देश
उँभो लागोस् ।
बडा दशैँ आयो आज खुसी छाओस् मनमा
शुभकामना बाँड्छु म त सबै नेपालीमा , सबै नेपालीमा ।




















