मेरो जन्म विसं १९९४ मंसिर २० मा भएको हो । यही मंसिर २० बाट ८२ पुगेर ८३ वर्ष लागेँ । मलाई सुगर भएको छ । औषधि खाइरहेकी छु । मुटुको सम्भावित खतराबाट बच्न डाक्टरको सल्लाहमा औषधि लिइरहेकी छु । उमेरले डाँडा काटे पनि गम्भीर प्रकृतिको रोग लागेको छैन । सबैको शुभेच्छाले तन्दुरुस्त छु । बिहान चारदेखि साढे चार बजेसम्म उठिसक्छु । हातमुख धोएर आधाघन्टाजति ध्यान गर्छु । ध्यानपछि आफैँले बनाएर आधा लिटरजति दुधकफी पिउँछु ।
”बिहान चारदेखि साढे चार बजेसम्ममा उठिसक्छु । हातमुख धोएर आधा घन्टाजति ध्यान गर्छु । ध्यानपछि आफैँले बनाएर आधा लिटरजति दूधकफी पिउँछु ।”
खाना आफैँ बनाउँछु
पाँच बजे रेडियो नेपालमा आउने शिवजीको आरधाना सुन्छु । ६ बजेपछि आधा घन्टा समाचार सुन्छु । साढे ६ बजेपछि दैनिक नुहाउँछु । आफैँ खाना बनाउछु । आठ बजेसम्म बिहानको खाना खाइसक्छु । बिहानको खानामा म दाल, भात हरियो तरकारी खान्छु ।
साढे आठ बजेसम्ममा घरको काम सकेर संस्थाको काममा जान्छु । १२ बजेतिर एउटा फलफूल र एक गिलास पानी पिउँछु । दुई बजे एक कप चिया र चार–चारवटा बदाम र काजु तथा एउटा ओखर खान्छु ।
बेलुकाको खाना रोटी
बेलुका चार बजेतिर पसलमा गएर एक कप चिया पिउँछु । साँझको खानामा कोदोको रोटी, मकै, गहुँको रोटीमध्ये जे खान मन लाग्छ त्यही खान्छु । जाडोको मौसम भएकाले भुटेको मकै–भटमास खान्छु । साँझ सुत्ने बेलामा एक गिलास दूध पिउँछु । नौदेखि १० बजेसम्म सुतिसक्छु ।
बोतलको पानी पिउँदिनँ
म बोतलको पानी पिउँदिन । घरमा आफैँले तताएर थर्मसमा पानी बोक्छु । अनि त्यही उपयोग गर्छु । पहिला खाद्य अनुसन्धानमा तालिम लिएकी थिएँ । त्यो वेलादेखि प्लास्टिकका बोतलमा भरेको पानी र बाहिरको खाना खान छोडेँ । आफैँले तोरीको तेलमा पकाएका खानेकुरा खान्छु ।
रुटिन मिलाएर व्यायाम गर्दिनँ । संस्था, पसलको काममा यताउता गर्दा मेरो व्यायाम हुन्छ । संस्थामा १० जना महिला हुनुहुन्छ । उहाँहरूलाई काममा सघाउँदा, संस्था र पसलको व्यवस्थापन गर्दा शरीर दिनभर चलायमान हुन्छ ।
-नयाँ पत्रिकाबाट साभार