डाक्टर साहेब म मदिरा सेवन गर्दिनँ । अनि मलाई कलेजोमा बोसो जम्ने समस्या (फ्याटी लिभर) कसरी हुन्छ र ? जटिल अवस्थामा उपचारको लागि आउने धेरैजसो बिरामीले सोध्ने प्रश्न हो यो । उहाँहरू आफू मदिरा सेवन नगर्ने भएकाले कलेजोमा कुनै किसिमको समस्या नहुनेमा अलि बढी नै विश्वस्त देखिनुहुन्छ ।
यसमा मदिरा सेवन नगर्ने व्यक्तिमा कलेजोको समस्या नहुने सामाजिक विश्वासले समेत भरथेग गरिरहेको छ ।
हाम्रो जीवनशैलीमा आएका थुप्रै परिवर्तनले गर्दा मोटोपन र मधुमेहको समस्या सामान्य भएको छ ।
जसले गर्दा ‘नन अल्कोहलिक फ्याटी लिभिर’ अर्थात् गैरमदिराजन्यको कलेजोमा बोसो जम्ने रोगको समस्या उत्पन्न हुन्छ ।कलेजोमा बोसो जम्ने समस्या अत्यधिक मदिरा सेवन नगर्ने व्यक्तिमा देखियो भने उक्त समस्यालार्ई ‘नन अल्कोहलिक फ्याटी लिभिर’ भनिन्छ ।
यो समस्या अत्यधिक मदिरा सेवन नगर्ने वा अत्यन्त कम मात्रामा मदिरा सेवन गर्ने व्यक्तिमा हुन सक्छ । यसको विस्तार पनि समयमा उपचार नगरेर मदिराले कलेजो बिगारेजस्तै हुन्छ ।
शरीरमा बढी बोसो उत्पादन हुने वा आवश्यक मात्रामा खपत गर्न नसक्ने व्यक्तिको कलेजोमा बोसो जम्ने समस्या देखिन्छ । यस्तो स्थितिमा अतिरिक्त बोसो कलेजोका कोषिकामा जम्मा हुन्छन् । त्यो विस्तारै कलेजोको सिरोसिसमा परिणत हुन्छ । यसको जटिलता पनि उस्तै हुन्छ । एकपटक सिरोसिस भएपछि कुनै प्रभावकारी उपचार सम्भव छैन । यसैले सिरोसिस सुरु हुनुभन्दा अघि नै फ्याटी लिभरको पहिचान र उपचार गर्नु महत्त्वपूर्ण छ ।
नन अल्कोहलिक स्टटोहेपाटाइटिस कलेजोको सुन्नाइ र कलेजोमा बोसो जम्नाले हुने क्षति हो । यो कलेजो रोग हो । पश्चिमा जगत्मा कलेजो प्रत्यारोपण गर्ने एउटा प्रमुख कारण गैरमदिराजन्य कलेजोमा बोसो जम्ने रोग हो । कलेजोमा बोसो जम्ने रोगको समयमै जाँच र उपचार नभए विस्तारै कलेजो कडा हुँदै जान्छ । अझ लामो समयसम्म यसको रोकथाम भएन भने यो ‘सिरोसिस’ र कलेजोको क्यान्सरमा परिणत हुने सम्भावनासमेत हुन्छ ।
निरन्तर बोसो जम्दा कलेजोको आकारसमेत ठूलो हुँदै जान्छ । यसको कोषिकाहरूमा कडापनसमेत बढ्दै जान्छ । हाल विश्वभरि नै यो रोगको प्रकोप बढ्दै गएको छ । आरामदायी जीवनशैली, पश्चिमा शैलीको खानपानले गर्दा यो रोगले महामारीको रूप लिन सक्ने आंकलनसमेतगरिँदै छ ।
जंकफुड, अत्यधिक बोसोयुक्त खाना, मासु, सोडा, कोल्ड ड्रिंक र मदिरा सेवन गर्नेहरूमा कलेजोमा बोसो जम्ने समस्या बढी देखिन्छ । हालको बढ्दो सहरीकरणले गर्दा हाम्रो जीवनशैलीमा धेरै परिवर्तन आएको छ । खानपिनले गर्दाधेरैजसो व्यक्तिमा बढी तौलको समस्या देखियो, मधुमेहको प्रकोपमा वृद्घि भयो । शरीरमा बोसोको मात्रासमेत बढ्दै गयो । यही तीनवटा अवस्था नै कलेजोमा बोसो जम्ने प्रमुख कारण हुन् ।
एउटा स्वस्थ कलेजोमा अलिकति पनि बोसो जमेको हुनुहुन्न । नन अल्कोहलिक फ्याटी लिभर रोगको मुख्य जटिलता सिरोसिस हो । जो कलेजोमा ढिलो गरी पर्ने चिनो (फाइब्रोसिस) हो । सिरोसिस कलेजोमा चोटको प्रक्रियाले गर्दा हुन्छ । यसले कलेजोको सुन्नाइलाई रोक्ने प्रयास गर्छ र यसको लागि यो स्कारिङ क्षेत्र (फाइब्रोसिस) लाई उत्पन्न गर्छ । निरन्तर सुन्नाइसँगै फाइब्रोसिस बढीभन्दा बढी कलेजोको तन्तु ग्रहण गर्नको लागि फैलिन्छ ।
यो रोगको मुख्य कारणमा मोटोपना, मधुमेह, हाइपरलिपिडिमिया, आनुवांशिक कारण, कुनै विशेष औषधिको नकारात्मक प्रभावसमेत हुन सक्छ । धेरैजसो व्यक्तिमा यो रोगको कुनै लक्षणसमेत देखिँदैन । धेरैजसो समय कुनै घटना विशेषले पेटको अल्ट्रासाउन्ड गराउँदा यो समस्याबारे थाहा हुन्छ । केही व्यक्तिलार्ई भने यसको लक्षणअन्तर्गत अस्वस्थताको अनुभूति, थकाइ, कमजोरी, वाकवाकी, माथिल्लो दाहिने पेटमा बेचैनी समस्यासमेत देखिने गर्छ ।
यो समस्याको पहिचानअन्तर्गत चिकित्सकले बिरामीको रुटिन, रगत परीक्षण गराउँछन् । यसबाहेक अतिरिक्त परीक्षण हरूसमेत आवश्यक पर्न सक्छ । यसअन्तर्गत अल्ट्रासाउन्ड परीक्षण, सीटी स्क्यान, अपर ग्यास्ट्रो इन्टेस्टाइनल इन्डेस्कोपी, फाइव्रोस्क्यान मात्र नभई कलेजोको बायोप्सीसमेत गर्नुपर्ने हुन सक्छ ।
कलेजोमा बोसो जम्ने रोगको सटिक कारण अझैसम्म ज्ञात छैन । यस्तै, यसको कुनै प्रत्यक्ष उपचार पनि छैन । यसको अप्रत्यक्ष उपचार गरिन्छ । जस्तै, तौलमा कमी र निरन्तर व्यायामको सहयोगले मोटोपना घटाइन्छ । कलेजोमा बोसो जम्ने समस्या देखिएको करिब ७० प्रतिशत व्यक्तिमा मोटोपना देखिएको छ । अझ कलेजोमा बोसो जम्ने समस्या भएका करिब ७५ प्रतिशत व्यक्तिमा टाइप-२ मधुमेह देखिएको छ । कलेजोमा बोसो जमेका करिब २० देखि ८० प्रतिशत व्यक्तिको रगतमा उच्च लिपिड (बोसो) समेत देखिएको छ ।
कलेजोमा बोसो जमेकाहरूमा इन्सुलिन प्रतिरोधी (रेसिस्टेन्ट) अवस्थासमेत देखिएको छ । यो अवस्थामा शरीरले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन । तर यो आवश्यक छैन की त्यो व्यक्तिलाई मधुमेह नै भएको होस् । यो रोगको सम्भावित उपचार दीर्घकालीन, जीवनपर्यन्त पनि जारी रहन्छ । व्यक्ति विशेषमा उपचार निर्धारण गर्न कठिनसमेत हुन्छ ।
यो रोगबाट बाँच्न सकारात्मक जीवनशैली, दैनिक व्यायाम, स्वस्थकर खानपान र मुख्य रूपमा आफ्नो सही तौल कायम राख्नु आवश्यक छ । तर यो रोग विकसित नहोस्भनेर केही वर्षको अन्तरालमा अल्ट्रासाउन्ड परीक्षण एवं लिभर फङ्गसन टेस्ट गराउनु सहयोगी हुन सक्छ ।
यसको उपचारमा हाल केही नयाँ औषधिसमेत थपिएको छ । यसअन्तर्गत भिटामिन ‘ई’ र पायोग्लिटा जोन (मधुमेहको औषधि) ले केही मात्रामा सहयोग गरे तापनि यसबारे अझै विश्वसनीय प्रमाण खोज्ने प्रक्रिया जारी छ ।
हालसम्म कलेजोमा बोसो जम्ने समस्याको निवारणका लागि आफ्नो तौलमा उपयुक्त कमी ल्याउनुको साथै नियमित व्यायाम बाहेक अन्य उपाय छैन । तर सुखद कुरा के छ भने कलेजोमा बोसो जमेका धेरै व्यक्तिमा अन्य खतरनाक समस्या विकसित हुँदैन । तथापि केही व्यक्तिमा कलेजोमा बोसो जम्ने रोग समयसँगै झन् नराम्रो अवस्थामा पनि पुग्छ ।