‘नेपालको परिवर्तनमा पुष्पलाल विचार’

  • डा. माधव पन्थी

आज ४३ औँ पुष्पलाल स्मृतिदिवस । उहाँका जेठा दाइ, १९९७ सालमा राणाशासनविरुद्धका अमर शहीद गङ्गालाल । पुष्पलालको समग्र जीवनीको अध्ययन गर्दा उहाँमा गङ्गालालको प्रभाव अत्यधिक परेको देखिन्छ । शहादत प्राप्त गर्नुभन्दा एक दिन पहिले गङ्गालालले सुपेको जिम्मेवारी पूरा गर्न र गङ्गालालको चिताका अगाडि पुष्पलालले खाएको कसम कार्यान्वयन गर्ने महाभियानमा पुष्पलालको जीवन समर्पित भयो ।

१७ वर्षको उमेरमा निरङ्कुश जहानियाँ राणाशासनविरोधी आन्दोलनमा लागेका पुष्पलालले पिताजीको चाहना पूरा गर्नका निम्ति नेपालबाट हाइस्कुल परीक्षा पास गरे पनि राजनीतिक काममा समर्पित हुँदा औपचारिक अध्ययन अगाडि बढाउन नसके पनि निरन्तर स्वाध्यायले आपूmलाई अब्बल दर्जाको बौद्धिक व्यक्तित्वका रूपमा समेत स्थापित गर्नुभयो । निरङ्कुश राणाविरोधी आन्दोलनको यात्रामा विभिन्न अनुभव बटुल्दै जाँदा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको नेतृत्व गर्दै संस्थापक महासचिव बन्नुभयो । यो उहाँको राजनीतिक यात्राको गुणात्मक परिवर्तन हो र यही व्यक्तित्वले पुष्पलाल नेपाली राजनीतिका शिखर व्यक्तित्वका रूपमा स्थापित हुनुभयो ।

यतिखेर नेपालमा राजतन्त्रको विधिवत् अन्त्य भएको पनि १२ वर्ष पूरा भएको छ । नेपालको संविधान सभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरेको पनि पाँच वर्ष पुग्न आँटेको छ । संविधानबमोजिम स्थानीय तहको चुनाव भएको तीन वर्ष र प्रादेशिक एवं सङ्घीय सरकार गठन भएको पनि अढाइ वर्ष पूरा भएको छ । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली राजनीतिको यथार्थ बनेको छ । युरोपमा कम्युनिस्ट विचारमा आधारित पार्टी स्थापना हुनुभन्दा पहिले नै गणतन्त्र आएर धर्मनिरपेक्षता कार्यान्वित भए पनि नेपालमा यी विषयका बारेमा कम्युनिस्ट पार्टीले आवाज उठाएको हो । यसको पक्षमा पुष्पलाल दृढताका साथ खडा हुनुभयो । पुष्पलालको जीवनकालमा यसको कार्यान्वयन भएन, उहाँले यसलाई देख्नुभएन । उहाँको सम्पूर्ण जीवन सामन्ती निरङ्कुशताका विरुद्धमा सङ्घर्ष गर्दा नै बित्यो । उहाँले स्थापित गरेको विचारवाहक कम्युनिस्ट पार्टीकै शक्तिमा स्थापित भयो लोकतान्त्रिक गणतन्त्र ।

अहिले लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा देखिएका त्रुटि कमजोरीका निम्ति अहिलेको पुस्ता नै जिम्मेवार छ ।

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरी गणतन्त्रको यात्रा अगाडि बढाउने कामको अगुवाइ उहाँले गर्नुभएकोले गणतन्त्रको वैचारिक नेताका रूपमा नेपाली जनताका बीचमा उहाँ युगौँसम्म जीवित रहनुहुनेछ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय सरकारमा करिब दुईतिहाइको समर्थनप्राप्त कम्युनिस्ट पार्टीको सरकार छ । सात प्रदेशमध्ये छ प्रदेशमा र ७५३ स्थानीय सरकारमध्ये अधिकांश स्थानमा नेकपाको सरकार छ । सबै तहको निर्वाचन र सरकारलाई हेर्दा नेपालको राजनीतिक इतिहासमा यति बढी जनसमर्थन प्राप्त सरकार कहिल्यै बनेको थिएन तर विगत केही समययता सरकार सञ्चालन गर्ने पार्टीका क्रियाकलापलाई हेर्दा कतै ठूलो दुर्घटना भएर नेपाली जनताको अभिमतमा बज्रपात हुने त होइन ? भन्ने आशङ्का पनि सर्वत्र छाएको छ । यसको समाधानका निम्ति पुष्पलालका विचार सान्दर्भिक हुने भएकाले यस विषयमा केही चर्चा गरिएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठानलगायत विभिन्न सङ्घ, संस्था र व्यक्तिले पुष्पलालका रचना एवं जीवनी छापेका छन् । उहाँ नेपालको कम्युनिस्ट आन्दोलनका युगपुरुष भएकाले नेपालको कम्युनिस्ट आन्दोलन र उहाँँका बारेमा देशविदेशका विश्वविद्यालयबाट विशिष्ट अध्ययन अनुसन्धान भएका छन् । यद्यपि उहाँले विविध भाषामा विविध साहित्यिक सिर्जना, राजनीतिक एवं इतिहाससँग सम्बन्धित भएर थुप्रै लेख्नुभएको छ तथापि उहाँ आम नेपाली जनसमुदाय र विश्वसमक्ष माक्र्सवादी चिन्तनमा आधारित नेपालको इतिहासको समीक्षा गर्ने चिन्तक, नेपाल कम्युनिस्ट पार्टीको माध्यमबाट नेपाली समाजलाई अगाडि बढाउने राजनेताका रूपमा स्थापित हुनहुन्छ । उहाँमा विश्वका कम्युनिस्ट नेताहरू माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ र हो चि मिन्हको जीवनी र रचनाको सकारात्मक प्रभाव परेको पाइन्छ । यस्तै उहाँमा भारतीय स्वतन्त्रता सङ्ग्रामका आदर्श व्यक्तित्वको पनि प्रभाव परेको छ । पुुष्पलाल नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव र आफ्ना विचारलाई कार्यान्वयन गर्नका निम्ति आजीवन समर्पित योद्धा हो । यसरी पुष्पलाललाई उहाँका रचना र पार्टी सङ्गठनमा प्राप्त गर्न सकिन्छ तर सबभन्दा बढी व्यवहारमा प्राप्त गर्ने हो । उहाँका आदर्शलाई नेपाली समाजको सकारात्मक रूपान्तरणमा लागु गर्ने हो भने यो नै उहाँप्रतिको सच्चा सम्मान हुन्छ ।

कम्युुनिस्ट सिद्धान्तअनुसार राजनीतिको कार्यान्वयन गरेर बहुसङ्ख्यक श्रमजीवीवर्ग विशेषतः मजदुर किसानको हकहितको रक्षा गर्दै उनीहरूको राज्यसत्ता स्थापना गर्ने कार्यमा समर्पित हुनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ । अतः नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व स्थापित गरी बहुसङ्ख्यक श्रमजीवी जनतालाई सुखी र समृद्धशाली बनाउने अभियानलाई निरन्तरता दिनु नै नेकपाको पहिलो दायित्व हो ।

व्यक्ति होइन, पार्टी ठूलो हो । कम्युनिस्ट पार्टी भनेको नेताप्रधान होइन कि नीतिप्रधान हुनुपर्दछ भन्ने उहाँको मूल मान्यता थियो । कम्युनिस्ट पार्टी भनेको भेला होइन बरु यो त सुस्पष्ट राजनीतिक विचारधारा बोकेका कार्यकर्र्ताको सङ्गठित शक्ति हो । यसले नै सामाजिक रूपान्तरणलाई अन्तिम गन्तव्यमा पु¥याउँछ भन्ने उहाँको मान्यता थियो । उहाँको विचारमा नेपालमा किसानको समस्या नै आधारभूत समस्या हो, उनीहरूको हकहितमा कम्युनिस्ट पार्टी समर्पित हुनुपर्दछ भन्ने थियो । व्यक्तिकेन्द्रित होइन कि बहुसङ्ख्यक जनताको हितमा केन्द्रित भएर पार्टीलाई अगाडि बढाउनुपर्दछ भन्ने विषयमा उहाँले आजीवन सङ्घर्ष गर्नुभयो । पुष्पलाल अवसरवाद र सशोधनवादको विरोध गर्दै माक्र्सवादको रक्षाका निम्ति निरन्तर खट्नुभयो । पार्टीमा भित्रिएका गुटगत गतिविधिका विरुद्धमा उहाँ दह्रो रूपमा लड्नुभयो । यस क्रममा उहाँले थुप्रै राजनीतिक प्रतिवेदन, लेखरचना प्रकाशित गर्नुभयो । तिनीहरूको इमानदारीपूर्वक अध्ययपन विश्लेषण गरी कार्यान्वयन गर्ने हो भने अहिले नेपाल कम्युनिस्ट पार्टीमा देखिएका समस्याको समाधान भेटिन्छ ।

उहाँलाई प्रत्यक्ष भेट्न नपाए पनि अध्ययनबाट थाहा पाएअनुसार उहाँ कार्यकर्तालाई प्रशिक्षण दिँदै भन्नुहुन्थ्यो कि क्रान्ति आयात निर्यातको विषयवस्तु होइन, बरु आफू बाँचेको युग र समाजको सटीक वर्गीय विश्लेषण गरी समस्या समाधानको बाटो हो । संसारका ठूला क्रान्ति र परिवर्तन पनि बाह्य समर्थनविना सम्भव थिएनन् । क्रान्ति सम्पन्न गर्न र क्रान्तिका उपलब्धिलाई रक्षा गर्नका निम्ति पनि बाह्य सहयोग र समर्थन जरुरत पर्दछ तर त्यो लादिएको र थोपरिएको हुनुहुँदैन । नेपाली क्रान्तिको बाटो नेपाली नेतृत्वले नै पत्ता लगाउने हो । अतः नेपालको सामाजिक परिवर्तनको अभियानमा पनि विश्वका समाजवादी एवं जनवादी आन्दोलन एवं राष्ट्रहरू, शान्त, न्याय र समानताका शक्तिहरू, मुक्तिकामी जनताको सहयोग र समर्थन आवश्यक छ भन्ने उहाँका विचार थियो । छिमेकी मुलुकको जनवादी आन्दोलन नेपालको जनवादी आन्दोलनको सहयोगी मित्रशक्ति हो भन्ने उहाँको ठम्याइ थियो ।

यस्तै नेपालको स्वाधीनता र स्वतन्त्रता रक्षाका निम्ति सबैखाले असमान सन्धि खारेज गर्दै चीन र भारतसँग अनाक्रमण सन्धि गर्नुपर्दछ भन्ने उहाँको मान्यता थियो । आजको सन्दर्भमा यी विचार अत्यन्त सान्दर्भिक छन् । राजनीतिक पार्टीहरू वर्गीय हुने भएकाले कम्युनिस्ट पार्टी मूलतः मजदुर तथा किसानवर्गको पार्टी हो । यसले तिनीहरूको हकहितको रक्षा गर्नुपर्दछ । यो सबैको साझा पार्टी बन्नसक्दैन । यो नै उहाँको समयमा बहसको विषय बनेको थियो । दलाल तथा नोकरशाही पुँजीवादी शोषणको अन्त्य हुनुपर्छ भन्ने पुष्पलालको धारणा थियो । यतिखेर नेपालमा सामन्तवादको अन्त्य भएको छ तर दलाल तथा नोकरशाही पुँजीवादको अन्त्य भएको छ अथवा नयाँ आवरणमा बढेको छ ? समीक्षा गर्ने बेला आएको छ ।

उहाँले एकीकरण गर्दा विचारलाई सबैको सामु राखेर सङ्गठित गर्नुभयो । २००६ सालको सेरोफेरोमा कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद, पार्टी स्थापना गर्दा प्रथम पर्चा र १५ सेम्टेम्बरमा नेपाल कम्युनिस्ट पार्टीको प्रथम घोषणापत्र प्रकाशित गर्नुभयो । यस्तै २०२५ सालमा तेस्रो ऐतिहासिक सम्मेलन सञ्चालन गर्दा नेकपाको १८ वर्षको सिंहावलोकन एवं शिक्षा, नेपाली जनआन्दोलन एक समीक्षा, नयाँ जनवादी कार्यक्रमजस्ता दस्तावेज तयार गर्नुभयो । २०२९ सालमा चौथो सम्मेलनमा राजनीतिक रिपोर्टका साथै नेपाल कम्युनिस्ट पार्टी र यसको कार्यपद्धति, दस्तावेजको अध्ययन कसरी गर्ने ? जस्ता महत्वपूर्ण सामग्री तयार गर्नुभयो । उहाँ रचनात्मक काम र घण्टौँ सङ्गठनको व्यावहारिक काममा निरन्तर जुट्नुभयो र आफूलाई अमर बनाउनुभयो । पुष्पलालले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिँदै, अन्त्यहीन विवाद, उद्देश्यहीन गति र लक्ष्यहीन प्रहारबाट सधैँ बच्न सचेत पार्नुभयो । अहिले पनि यसको सान्दर्भिकता उत्तिकै छ ।

(लेखक डा.पन्थीले पुष्पलालको विषयमा विद्यावारिधि गर्नु भएको छ ।)


ताजा खबर