~ शोभा शिलवाल
राणाशासन ,पञ्चायत र प्रजातन्त्र भोगी सके जनताले
गणतन्त्र नामको लहडी शासन भोग्दै छन् जनताले।
सङ्घीयता भनेको त जनतालाई झुक्याउने खेल रहेछ
सत्तामा पुग्नेले देश र जनतालाई लुट्ने खेल रहेछ।
दङ्गा फसाद गर्ने, झगडालु भए नेता भइँदो रहेछ
डर ,धम्की देखाएपछि जनताको सर्वस्व भुट्न पाइँदो रहेछ ।
शैक्षिक सर्टिफिकेट नचाहिने गफ जाने हुँदो रहेछ
उखानटुक्का बिच बिचमा गाँसी दिए काफी हुँदो रहेछ।
काम गरी खान गाह्रो हुने डुली खान पाइँदो रहेछ
झोले र छाते बन्न गाह्रो नमाने नेता भइँदो रहेछ।
राम राज्य गर्न नजाने पनि नेता भएपछि हुने रहेछ
कसो गरी आफ्नो दस पुस्ता पाल्ने ?भनी सोचे हुने रहेछ।
नेताको हात्तीको जस्तो चपाउने र देखाउने दाँत हुँदो रहेछ
जनताले दुत्कारे पनि यिनलाई अहङ्कार र अभिमानले छुँदो रहेछ।
जति मान्छे मारेर नारीका सिउँदो पुछे पनि नेता हुन पाइँदो रहेछ
सत्तामा पुगेपछि नेताको नैतिकता भारमा पुग्न जाँदो रहेछ।
सक्छौ भने जनताहरू , आफ्नो सत्ता आफ्नै हातमा लिनू
रक्सी र मासुमा नबिकी ,आफ्नो मत सार्थक बनाउनू ।