तेह्रौं साग : म्याराथनमा किरणले जिते स्वर्ण

नेपालका किरणसिंह बोगटीले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष म्याराथनमा स्वर्ण पदक जितेका छन्।

४२.१९५ किलोमिटर दुरीको म्याराथन किरणसिंहले २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन्।

रजत पदक भारतका जसपाल सिंहले जिते। उनले निर्धारित दुरी २ घण्टा २१ मिनेट ५७ सेकेण्डमा पूरा गरे। काश्य पदक पनि भारतकै श्री सिंहले जिते। उनले  २ घण्टा २२ मिनेट ०७ सेकेण्डमा दुरी पूरा गरे।

नेपालका अर्का धावक होमलाल श्रेष्ठ चौथो स्थानमा आए। उलने  २ घण्टा २४ मिनेट ३१ सेकेण्डमा दुरी पूरा गरेका थिए।

यससँगै नेपालका बैकुण्ठ मानन्धरले सागमा बनाएको कीर्तिमान कम्तीमा अबको दुई वर्ष कायमै रहने भएको छ।

म्याराथनमा पुरुषतर्फको कीर्तिमान बैकुण्ठ मानन्धरका नाममा छ। उनले १९८७ को सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डमा दुरी पूरा गरेका थिए।

त्यस्तै महिलातर्फको कीर्तिमान भारतकी भि सथ्यमाभाको नाममा छ। उनले १९९५ को सागमा २ घण्टा ३८ मिनेट १० सेकेण्डमा ४२.१९५ किलोमिटर दुरी पूरा गरेर कीर्तिमान राखेकी थिइन्।

रासस


ताजा खबर