गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघबीच सम्झौता

गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच संघमा आबद्ध चार्टर्ड एकाउन्टेन्टहरूलाई लक्षित गरी विभिन्न कर्जा सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघमा आबद्ध सदस्यहरूले आकर्षक ब्याजदरमा बैंकका विभिन्न कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष अनुप नेपालले हस्ताक्षर गर्नुभएको छ।

सम्झौतापश्चात् संघमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूले न्यूनतम आवश्यक कागजातका आधारमा ७५ हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, आवश्यक प्रक्रिया पूरा गरेपछि बिनाधितो १५ लाख रुपैयाँसम्मको व्यक्तिगत प्रोफेसनल कर्जासमेत लिन सक्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी गरिमा विकास बैंकले चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई आकर्षक ब्याजदरमा घर कर्जा तथा सवारीसाधन कर्जा सुविधा पनि उपलब्ध गराउने जनाएको छ ।

हाल बैंकले ‘अब आफ्नै घर’ भन्ने नाराका साथ ६.४९ प्रतिशत ब्याजदरदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशत ब्याजदरदेखि नै गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गरिरहेको छ ।

गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय र ५१ एटिएम सञ्चालनमा ल्याएको छ । साथै, नवीनतम डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ५० हजार ग्राहकलाई सरल, सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

 


ताजा खबर