साइलेन्ट डिभोर्स

~लिला अनमोल 

उदाउँदो घामसँगै ओछ्यान छुट्छ

एउटै छानोमुनि दुईवटा किनारा बाँचिरहन्छन्।

बाहिरबाट हेर्दा भरिपूर्ण देखिने यो संसारभित्र

हरेक दिन एउटा निशब्द युद्ध हारिरहन्छ।

​ओठहरूमा लागेको छ एउटा नदेखिने ताला

बोलचाल मरेको धेरै वसन्त ढलिसक्यो।

यहाँ आवाजहरू बग्दैनन्, मात्र आवश्यकता बोल्छ

“व्यवहार अलपत्र छ,” वा “बच्चाको फि तिर्नु छ”

—सम्बन्धका हरफहरू अब कामको सीमामा खुम्चिएका छन्।

​हामी सँगै छौँ

तर यो सामीप्य प्रेमको होइन, समाजको ऋण हो।

हामी एउटै डुङ्गाका दुई विपरीत किनारा हौँ

जसलाई छोराछोरीको भविष्यको डोरीले कस्सेर बाँधेको छ।

परिवारका हाँसो जोगाउन

आफ्नो गुम्सिएको चित्कार दबाउनुपर्ने

कस्तो भयानक बन्धन हो यो!

जहाँ सम्झौताको काँढामा हरेक रात मन रेटिन्छ।

​बाहिर मान्छेहरू भन्छन्— “कति लोभलाग्दो जोडी!”

भित्र भने दुईवटा आत्माका लाशहरू एउटै कोठामा सडिरहेका छन्।

अदालतको ढोका त ढक्ढक्याइएन कहिल्यै

तर आत्माले त उहिल्यै पाएको हो ‘मौन सम्बन्धविच्छेद’।

​काँचका गिलासहरू फुटे त आवाज आउँछ

तर मन फुट्दाको शब्द समाजले सुन्दैन।

जीवित हुनु र बाँच्नुको बीचमा

एउटा विशाल मरुभूमि खडा गरेर

मान्छे कसरी एउटा जिउँदो लाश बनेर गुज्रिरहन्छ

यो मौनता नै हाम्रो समाजको सबैभन्दा भयानक सत्य हो।


ताजा खबर