बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहका बिरामी र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स नपिउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको विभागले आग्रह गरेको छ।
इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे सरोकारवालालाई जानकारी गराउँदै विभागले यस्तो अपिल गरेको हो। साथै, सेवन गर्न मिल्ने स्वस्थ व्यक्तिले पनि दिनमा दुई क्यानभन्दा बढी इनर्जी ड्रिंक्स नपिउन सुझाव दिइएको छ।विभागका अनुसार हाल नेपालमा एक्सट्रिम र रेडबुल लगायतका १७ वटा उद्योगले आधिकारिक अनुमति लिएर इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन्।
प्रयोगशाला प्रतिवेदन र लेबलअनुसार नेपालमा उत्पादित प्रतिक्यान इनर्जी ड्रिंक्समा १०० मिलिग्राम क्याफिन हुने गरेको पाइएको छ।अन्तर्राष्ट्रिय मापदण्ड (ईएफएसए र यूएसएफडीए) अनुसार स्वस्थ वयस्कले दैनिक ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्न सक्ने वैज्ञानिक आधार छ।
नेपालमा उत्पादित इनर्जी ड्रिंक्समा यो सीमाको २५ प्रतिशतभन्दा कम क्याफिन भए पनि चिया, कफी र अन्य पेय पदार्थबाट आउने क्याफिनको मात्रालाई समेत ध्यान दिनुपर्ने विभागको भनााइ छ।
इनर्जी ड्रिंक्सलाई पानी, दूध, जुस वा मोहीजस्ता पौष्टिक पेयको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर नपिउन उपभोक्तालाई अनुरोध गरिएको छ। त्यस्तै, उत्पादकहरूलाई कानुनबमोजिम अनुमति लिएर मात्र विज्ञापन गर्न तथा लेबलमा स्पष्ट चेतावनी सन्देश राख्न निर्देशन दिइएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गर्नेलाई कानुनअनुसार कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ। रासस




















