सरकारले नेपालका दुई स्थानमा पेट्रोलियम पाइपलाइन र एक स्थानमा ग्याँस पाइपलाइन निर्माणको लागि आवश्यक प्रकृया अघि बढाउने सम्बन्धमा भारतसंग छलफल अघि बढाएको छ ।
पेट्रोलियम पदार्थको आयात सहज बनाउन अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइन चितवनको लोथरसम्म विस्तार गर्ने र भारतको सिलगुढीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन विस्तारका लागि ठोस रुपमा काम अघि बढाउन दुबै देशको उच्च तहमा छलफल अघि बढेको हो ।
नेपाल र भारतका बाणिज्य सचिवस्तरमा काठमाडौ गतसाता भएको छलफलमा हालै भारतको नयाँ दिल्लीमा भएको नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्याँस संयुक्त कार्यदलको बैठकका सहमतीहरुलाई ठोस कार्यन्वयन प्रकृयामा लैजाने विषयमा सहमती भएको छ ।
नेपालले भारतीय पक्षसंग भारतको गोरखपुरदेखि नेपालको बुटवलसम्म प्रकृतिक ग्याँसको पाइपलाइन विस्तार गर्ने प्रस्ताव राखेकोमा सचिवस्तरीय बैठकमा भारतीय पक्ष नेपालको माग प्रक्षेपणका लागि अध्ययन गर्न सहमत भएको उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव धुव्र भिमिरेले जानकारी दिनु भयो ।
अमलेखगञ्जदेखि चितवनको लोथरसम्म र सिलगुढीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन विस्तारका लागि संयुक्त अध्ययन टोली गठन गर्ने सहमती भएको विषयमा दुबै सचिवहरुले छलफल गरेको र अब छिट्टै यो प्रकृया अघि बढने पनि सहसचिव घिमिरेले बताउनु भयो ।
सचिव स्तरीय बैठकमा नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्याँस संयुक्त कार्यदलको हालै भारतको राजधानी नयाँ दिल्लीमा भएको बैठककका विभिन्न ७ सहमतीको कार्यान्वयनका लागि ठोस प्रकृया अघि बढाउने र पेट्रोलियम तालिम केन्द्र स्थापना लगायतका अन्य विषयमा पनि सचिवस्तरमा छलफल भएको मन्त्रालयले जनाएको छ । -रासस