बन्दाबन्दी लम्ब्याएर उद्योगधन्दा तथा वित्तीय कम्पनी सञ्चालन गर्न दिने सरकारको निर्णय

सरकारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दीलाई ५ जेठसम्म लम्ब्याएको छ । बन्दाबन्दीलाई लम्ब्याए पनि सरकारले यो अवधिमा विकास निर्माण र उद्योगहरूलाई खुला गर्न दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जारी बन्दाबन्दीलाई ५ जेठसम्म लम्ब्याउने निर्णय गरेको थियो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले बन्दाबन्दीले सम्भावित क्षतीलाई रोक्न मद्दत पुगेको भन्दै समयावधि थप्न सिफारिस गरेको थियो । समितिले कोरोनाको जोखिमका आधारमा रातो, पहेँलो र हरियो क्षेत्र निर्धारण गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव राखेको थियो ।

सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै स्थानीय तहको समन्वयमा सबै उद्योग, बैंक तथा वित्तीय कम्पनीहरुलाई  सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए ।

खाद्यान्न उत्पादन वा प्रशोधन गर्ने उद्योग, दुग्धपदार्थ उत्पादन गर्ने उद्योग, औषधि तथा सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योग, खाने पानी उत्पादन गर्ने उद्योग, इँटा उद्योग, पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योगखाने तेल तथा घ्यु उद्योग, चिनी उद्योग, चिया प्रशोधन उद्योग र एलपीजी ग्यास उद्योग चलाउन खतिवडाले जानकारी दिए ।

त्यस्तै, प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योग, कफि, पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग, नुडल्स तथा तयारी चाउचाउ उद्योग, मसला, अलैंची र अदुवा प्रशोधन उद्योग पनि चल्न पाउने छन् ।

कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग, धान चामल र चिउरा उद्योग ,दाल उद्योग, पशु औषधि र किटनाशक औषधि सम्बन्धी उद्योग, खानी तथा खनिजजन्य उद्योग, बालुवा प्रसोधन तथा क्रसर उद्योग, सिमेन्ट उद्योग, आइरन तथा स्टिल उद्योग,पेन्टिंग्स रंगरोगन उद्योग, जीआई र प्लास्टिकपाईप र फिटिंग्स उद्योग, बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग, जुुस तथा हल्का पेयपदार्थ उद्योग पनि सञ्चालन हुनदिने निर्णय सरकारले गरेको छ ।

त्यस्तै खतिवडाले प्लाइउड र भेनिर उद्योग, विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफर्मर तथा प्रसारणसँग सम्बन्धीत उद्योगहरु, जस्तापाता उद्योग हेभी मेसिनरी औजार मर्मत सम्भार, खनिजजन्य उद्योग र खानीहरु लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत ,समिल र काष्ठ उद्योग, आल्मुनियम उद्योग, ग्रील उद्योग, फोहोर मैला संकलन तथा प्रशोधन उद्योग, ढुवानी तथा कार्गो सेवा उद्योग, मेसिन पाटपुर्जा वर्कसप उद्योग, मोटर ग्यारेज वर्कसप उद्योग छापाखाना तथा प्रेस सम्बन्धी उद्योग सञ्चालन गर्न दिने बताए ।

सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग, विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग, औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योगहरूका साथै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट अनुमतिप्राप्त सबै स्टेसनरीले समेत सञ्चालन गर्नदिने निर्णय सरकारले गरेको छ । रासस


ताजा खबर