भारत सरकारले बाबा रामदेवको कम्पनी पतञ्जलीले बनाएको दाबी गरेको कोरोनाको औषधिको प्रचारप्रसारमा रोक लगाएको छ । र भारत सरकारले कम्पनीमाथि विभिन्न प्रश्न सोधेको छ ।
भारतको आयुष मन्त्रालयले पतञ्जलीले बनाएको कोरोना भाइरसको औषधिमाथि प्रश्न उठाउँदै प्रचारमा रोक लगाएको हो । यसबारे छानबिन पूरा नहुँदासम्म यसको प्रचारप्रसारमा रोक लगाएको हो ।
पतञ्जलीले मंगलबार गरेको पत्रकार सम्मेलनमा बाबा रामदेवले कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गरेका थिए । रामदेवले औषधिको क्लिनिकल कन्ट्रोल स्टडी र ट्रायल दुबै गरेको एवं शतप्रतिशत ठीक भएको दाबी गरेको थियो ।
मन्त्रालयले भने पतञ्जली आयुर्वेद लिमिटेडलाई औषधि बनाउन प्रयोग भएका वस्तु, यसको कहाँ कुन अस्पतालमा परीक्षण गरिएको हो भनेर सोधेको छ । स्याम्पलको साइज के थियो ? इस्टिच्युसनल इथिक्स कमिटीको क्लियरेन्स छ छैन ? सीटीआरआई रजिष्ट्रेसन र अध्ययनसम्बन्धी डाटा कहाँ छ भनेर पनि सोधेको छ ।
यी प्रश्नको छानबिन नहुँदासम्म औषधिको विज्ञापन रोक्न मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले उत्तराखण्ड सरकारको लाइसेन्सिङ प्राधिकरणसँग औषधिको लाइसेन्सको कपी मागेको छ र प्रोडक्ट अनुमति दिएको विषयमा पनि कागजपत्र मागेको छ ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)का महानिर्देशक प्रो. बलराम भार्गवले पतञ्जलीको औषधिबारे टिप्पणी गर्न अस्वीकार गरेको बीबीसी हिन्दीले जनाएको छ ।
भारतको केन्द्रीय औषध मानक नियन्त्रण संगठन (सीडीएससीओ) का एक वरिष्ठ अधिकारीका अनुसार सामान्य परिस्थितिमा एउटा औषधि विकास गरेर क्लिनिकल ट्रायल पूरा गरेर मार्केटिङ शुुरु गर्न कम्तिमा तीन वर्ष लाग्छ । असामान्य परिस्थितिमा गति बढाउँदा पनि १० महिनादेखि एक वर्षसम्म लाग्छ ।
पतञ्जलीका सीईओ आचार्य बालकृष्णले भने थर्डपार्टीको मद्दतमा क्लिनिकल ट्रायल गरेको दाबी गरेका छन् ।