भारतमा एकैदिन ५२ हजारभन्दा बढी संक्रमित : कूल संक्रमितको संख्या १६ लाख नजिक

भारतमा दैनिक संक्रमित भेटिने दर निरन्तर उकालो लागेको छ। बुधबार एकै दिन त्यहाँ ५२ हजार २६३ संक्रमित फेला परेका छन्

त्यहाँ अब कूल संक्रमितको संख्या १५ लाख ८४ हजार ३८४ पुगेको छ। तीमध्ये १० लाख २१ हजार ६११ जना निको भएका छन्। मृत्यु हुनेको संख्या ३५ हजार नाघेको छ।

बुधबार संक्रमित निको हुनेको संख्या पनि उल्लेख्य रह्यो। ५२ हजार ८२९ जना निको भएर घर फर्किए भने ७७५ जनाको मृत्यु भयो।

भारतका महाराष्ट्र, तमिलनाडु, दिल्ली, कर्नाटका र आन्ध्रप्रदेश सबैभन्दा बढी प्रभावित छन्। महाराष्ट्रमा ३१ अगष्ट र त्रिपुरामा ४ अगष्टसम्म बन्दाबन्दी लम्बाइएको छ।

यसैबीच केन्द्र सरकारले १ अगष्टबाट लागू हुने ‘अनलक-३’ को निर्देशिका जारी गरेर रात्रिकालीन निषेधाज्ञा हटाएको छ। बन्दाबन्दीमा र ‘अनलक-१’ मा साँझ ८ देखि बिहान ६ बजेसम्म हिँडडुलमा प्रतिबन्ध थियो। निर्देशिका बमोजिम अब जिम पनि ६ अगष्टबाट खुल्नेछ।

विद्यालय भने ३१ अगष्टसम्म बन्दै रहने भएका छन्। त्यस्तै सिनेमा हल र मेट्रो रेल पनि नखोल्ने निर्णय भएको छ।

१५ अगष्टमा पर्ने भारतको स्वतन्त्रता दिवसको उत्सव मनाउन पनि सरकारले छुट दिएको छ। तर, व्यक्तिगत दूरी कायम राखेर मास्क अनिवार्य लगाउनुपर्नेछ। सरकारले पनि उक्त दिन लालकिल्लामा अघिल्ला वर्षजस्तै कार्यक्रम गर्नेछ। तर, थोरै मात्र मान्छे सहभागी गराउने जनाइएको छ।  एएनआई


ताजा खबर