कार्यदललाई पार्टीको आन्तरिक समस्याको सकारात्मक ढङ्गले समाधान खोज्न, पार्टी एकतालाई अक्षुण्ण राख्न र पार्टी तथा सरकारलाई प्राप्त भएको जनादेश अनुसार प्रभावकारी ढङ्गले अघि बढ्ने सम्बन्धमा सुझाव दिन कार्यादेश ।
नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको छलफलमा कार्यदल गठन गरी समस्या समाधान गर्न सहमति भएको हो ।
नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको कार्यदलमा स्थायी समितिका सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, जनार्दन शर्मा र पम्फा भुषाल रहनुभएको जानकारी नेकपा प्रचार विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभयो ।
सल्लाहकार थापाका अनुसार कार्यदललाई पार्टीको आन्तरिक समस्याको सकारात्मक ढङ्गले समाधान खोज्न, पार्टी एकतालाई अक्षुण्ण राख्न र पार्टी तथा सरकारलाई प्राप्त भएको जनादेश अनुसार प्रभावकारी ढङ्गले अघि बढ्ने सम्बन्धमा सुझाव दिन कार्यादेश दिइएको छ ।
हिजो बिहीबार पनि अध्यक्षद्वयबीच भएको छलफल पार्टीको आन्तरिक समस्या समाधान गर्ने गरी सकारात्मक दिशामा अघि बढेपछि आज पनि छलफलले निरन्तरता पाएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वयबीचको आजको छलफलमा पनि नेकपाका महासचिव पौडेल तथा स्थायी समिति सदस्यहरू शङ्कर पोखरेल र जनार्दन शर्मा पनि सहभागी हुनुहुन्थ्यो । रासस