साउदी अरबले इस्लामका दुई सबैभन्दा पवित्र धार्मिक स्थलहरूहरूमा १० जना महिलालाई उच्च जिम्मेवारी दिएको छ ।
इस्लामिक राजतन्त्रात्मक मुलुकले पछिल्लो समय महिला अधिकारप्रति अनुदारवादी रहेको भन्ने भनाइ सही नभएको प्रमाणित गर्न महिलाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएको बताइएको छ ।
इस्लामिक राज्यमा धार्मिक संस्थाहरूमा वरिष्ठ पदमा महिलाहरूको नियुक्ति प्राय गरिंदैन । तर राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व गरेको व्यापक उदारीकरण अभियानले मक्का र मदिनामा महिलालाई जिम्मेवारी दिन थालेको हो ।
मस्जिदका विभिन्न विभाग तथा प्रशासनिक र प्राविधिक जिम्मेवारीमा नियुक्तिबारे यी दुई मस्जीदका उच्च अधिकारीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सो नियुक्ति उच्च योग्यता र क्षमता सहितको साउदी महिलाको सशक्तीकरणका लागि गरिएको इस्लामिक अधिकारीले जनाएका छन् । साउदी राजकुमार मोहम्मदले भिजन २०३० योजना अन्तर्गत महिला रोजगारी बढाउन खोजेको बताइएको छ ।
राज्यको अर्थतन्त्रमा विविधता ल्याउने र तेलमा मात्र निर्भर नहुने उद्देश्यसहित अघि बढ्न चाहेको साउदी राजकुमारको उद्देश्य छ । तथ्याङ्कका अनुसार सन् २०१९ को तेस्रो त्रैमासिकमा सउदी अरबमा रोजगार महिलाको संख्या १० लाख ३० हजार पुगेको छ । सन् २०१५ मा यो सङ्ख्या आठ लाख १६ हजार थियो । रासस/एएनआई