कोरोनाका कारण विश्वमा धनी र गरीब राष्ट्रबीच असमानता बढ्यो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वका धनी र गरीब राष्ट्रहरुबिच असमानताको अवस्था सृजना गरिदिएको एक अध्ययनले देखाएको छ ।

बिबिसिले २७ देशका करिब ३० हजार मानिसहरुबिच गरेको एक सर्वेक्षणका क्रममा महामारी शुरु भएयताको ६ महिनामा सम्पन्न र विपन्न देशका बिचमा सामाजिक र आर्थिक क्षेत्रमा असमानताको अवस्था उत्पन्न भएको देखिएको हो ।

कोभिड-१९ का कारण धनी राष्ट्रको तुलनामा गरीब राष्ट्रले बढी आर्थिक समस्या झेल्नु परिरहेको पनि सो अध्ययनले देखाएको छ । कोरोनाका कारण आर्थिक गतिविधि चलायमान नहुँदा गरिब राष्ट्रहरुको आम्दानीमा ६९ प्रतिशतले गिरावट आएको छ भने धनी देशको आम्दानीमा ४५ प्रतिशत मात्र कमि आएको सर्वेक्षणले देखाएको छ ।

कोरोना भाइरसले विश्वभर कै अर्थतन्त्र प्रभावित बनाएको सन्दर्भमा भाइरसका कारण गरिब र युवा वर्ग बढि प्रभावित भएको पनि सर्वेक्षणमा उल्लेख गरिएको छ ।

यसैबिच , कोभिड १९ बाट विश्वभर संक्रमित हुनेको संख्या २ करोड ८३ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या ९ लाख १३ हजार नाघेको छ । हाल भाइरसबाट बढी प्रभावित देश भारतमा एकैदिनमा ९६ हजार ७ सय ६० जना संक्रमित थपिएका छन् ।

एकैदिन भारतमा १२ सय १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोनाबाट प्रभावित अन्य देशहरुमध्ये ब्राजिलमा ४० हजार बढि र अमेरिकामा ३६ हजार बढिमा संक्रमण पुष्टि भएको छ । विश्वभर करिब ७० लाख ७४ हजार बढि सक्रिय संक्रमित उपचाररत रहेका छन् । २ करोड ३२ लाख बढि मानिसहरु भने संक्रमणमुक्त भइसकेको समाचार छ । -बीबीसी


ताजा खबर