अमेरिकामा राष्ट्रपति निर्वाचनको मतदान सकियो

अमेरिकामा राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ ।

केही पश्चिमी तटीय राज्यहरुमा बाँकी रहे पनि अधिकांश राज्यमा मतदान सम्पन्न भएको छ । केही राज्यको मत परिणाम नै आउन थालेको छ । निर्वाचन परिणाम कसको पक्षमा जाने हो भन्ने व्यग्रताका साथ अमेरिका जनता मत परिणामको पर्खाईमा छन् ।

रिपब्लिकन पार्टीका तर्फबाट ७४ वर्षीय राष्ट्रपति डोनाल्ड ट्रम्प र ७८ वर्षीय डेमोक्र्याट्रिक प्रतिस्पर्धी जो बाइडेन चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान सुरु गर्ने परम्परा अनुसार सोही स्थानबाट मतदान भएको हो । नेपाली समय अनुसार मंगलबार बेलुकाबाट मतदान सुरु भएको हो ।

प्रत्यक्ष मतदान हिजो सम्पन्न भए पनि सोमबारसम्म अन्य माध्यमबाट झण्डै सात करोड अमेरिकी नागरिकहरुले मतदान गरिसकेको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हरेक निर्वाचनमा हुलाक मार्फत लाखौं मतदाताले मतदान गर्छन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यस पटक कोरोनाभाइरस महामारीका कारण आठ करोड २० लाख मानिसलाई हुलाकमार्फत् मतदान गर्न आग्रह गरिएको थियो ।

राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति तथा रिपब्लिकनका तर्फबाट उम्मेदबार बन्नुभएका डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदबार बन्नुभएका जो वाइडेनका बीचमा कडा प्रतिस्पर्धा हुने बताइएको छ । अमेरिकामा कुल ५३८ वटा इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई विजयी भएको मानिन्छ । –बीबीसी


ताजा खबर