कोरोना भाइरसविरुद्धको रोगप्रतिरोधी थेरापी (एन्टीबडी थेरापी) लाई अमेरिकी औषधि नियामक निकायले प्रयोगमा ल्याउन सिफारिस गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनाभाइरस उपचारमा उक्त पद्धतिको प्रयोग गरिएको थियो । एन्टीबडी थेरापी उपचारका लागि अनुमति प्राप्त गर्ने अमेरिकाको रिजेनेरोन दोस्रो कम्पनी हो । बीबीसीका अनुसार यसअघि अमेरिकी कम्पनी एली लिल्लीले गत नोभेम्बर ९ मा एन्डीबडी थेरापीका लागि अनुमति पाएको थियो ।
कोरोनाका कारण स्वास्थ्य जोखिम निकै रहेका तर अस्पतालमा भर्ना भइ नसकेका बिरामीमा यो उपचार विधि प्रयोग गर्न अनुमति दिइएको हो । औषधि निर्माता रिजेनेरोनले तयार पारेको रिजेन–कोभ२ औषधिले कोभिड–१९ सँग सम्बन्धित अस्पताल भर्नालाई रोक्न वा न्यून गर्न उपयोगी देखिएको छ ।
अन्य रोगका कारण समस्यामा परिरहेका बिरामीलाई पनि रिजेनेरोन उपयोगी हुनेछ ।
एएफपीका अनुसार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) का आयुक्त स्टेफेन हानले रिजेन–कोभ२ औषधि सेवन गर्ने कोभिड–१९ बाट संक्रमित व्यक्तिले हत्तपत्त अस्पताल भर्ना वा अस्पताल गइहाल्नु नपर्ने देखिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य सेवा प्रणालीमाथिको अतिरिक्त दबाब कम गर्न पनि रिजेनेरोन निकै उपयोगी रहेको बताउनुभयो ।
रिजेनेरोनका अध्यक्ष एवं प्रमुख कार्यकारी लियोनार्ड स्लाइफरले यो कदम कोभिड–१९ बिरुद्ध लड्न एउटा महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । कोभिड–१९ का कारण उच्च स्वास्थ्य जोखिममा रहने बिरामीले आफू संक्रमित हुनासाथ यो औषधिको सेवनबाट ठूलो लाभ लिन सक्ने पनि उहाँले बताउनुभयो ।
औषधिको प्रयोगबाट मानिसको रोगप्रतिरोधी क्षमता स्वाभाविक रुपमा बढ्छ । शरीरमा प्रतिरोधी क्षमता विकास गर्न प्राकृतिक विधिबाट कम मात्र सफलता प्राप्त भएपछि रिजेनेरोन र एली लिल्लीले प्रयोगशालाबाट एन्टीबडी थेरापी उत्पादन गरेका हुन् ।
उनीहरुले सार्स–कोभ–२ (कोभिड–१९) भाइरसको सतहको प्रोटिनलाई नियन्त्रित गरी यसलाई मानिसको शरीरभित्र प्रवेश गर्नबाट रोक्ने वैज्ञानिकहरुले बताएका छन् ।
कम्पनीले नोभेम्बरको अन्त्यसम्ममा ८० हजार बिरामीका लागि औषधि तयार गर्ने जनाएको छ । आगामी जनवरी २०२१ को अन्त्यसम्ममा करिब तीन लाख बिरामीले औषधि प्राप्त गर्न सक्नेछन् ।
औषधि हालका लागि अमेरिकामा मात्र उपलब्ध हुनेछ र सरकारी कार्यक्रम बमोजिम बिरामीले निःशुल्क प्राप्त गर्नेछन् । रिजेनेरोनले कोभिड–१९ को औषधि निर्माण गर्न ४५ करोड अमेरिकी डलर आर्थिक सहायता प्राप्त गरेको थियो । गत महिना पनि रिजेनेरोनले तयार पारेको इबोला भाइरसविरुद्धको एन्टीबडी औषधिलाई अमेरिकी नियामक निकाय एफडीएले प्रमाणपत्र दिएको थियो । बीबीसी