सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोक्नुका साथै नेताहरूको जिम्मेवारी तोकेको छ ।
बैठकले पार्टीको १०औं महाधिवेशन आगामी २०७८ साल मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गर्नुका साथै नेताहरूको जिम्मेवारी समेत तोकेको हो ।
बैठकले पार्टीको प्रवक्ताको जिम्मेवारी प्रदिप कुमार ज्ञवालीलाई तोकेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’ सहित २३ जना नेतालाई एमाले केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि समेत तोकेको छ । प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएको छ।