नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालमै रहने भएका छन्।
प्रधानमन्त्री ओलीलाई अस्पतालमै राखिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए।
चिसोका कारण स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली बिहान ९ बजे ग्राण्डी पुगेका थिए।
प्रधानमन्त्री ओलीलाई आइसियूमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणको रिपोर्ट आएपछि मात्रै बालुवाटर फर्किन चिकित्सकले सुझाव दिएका छन्।
उनलाई के भएको हो? र कस्तो स्वास्थ्य परीक्षण गरिएको? भन्नेबारे कुनै आधिकारिक धारणा बाहिर आएको छैन। अस्पतालले जारी गरेको बिज्ञप्तिमा पनि मेडिकल अपडेटबारे केही उल्लेख गरिएको छैन ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एक अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।
नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरूले धेरै दौडधुप नगर्न सुझाव दिँदै आएका छन्। प्रधानमन्त्री ओलीले दुई महिनाअघि सिंगापुरमा उपचार गराएका थिए।
त्यतिबेला प्रधानमन्त्री ओलीको शरीरमा जम्मा भएको एन्टिबडीलाई प्लाज्माफेरेसिसको माध्यमबाट नष्ट गरिएको थियो।