File Photo
उपचारकालागि हिजो ग्राण्डी अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे आवश्यक परीक्षणहरु पूरा भएपछि आज उहाँ निवास फर्कनु हुने अस्पतालले जनाएको हो ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ‘आत्तिनुपर्ने कुरा केही छैन, सबै ढुक्क भए हुन्छ, उहाँलाई एकदम राम्रो छ, खाना खाइरहनुभएको छ, आराम गरिरहनुभएको छ’ भन्नुभयो ।
पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै डाइरेक्टर डा पाण्डेले भन्नुभयो, “प्रधानमन्त्रीको उपचार गर्ने मुख्य डाक्टरमा प्राडा दिव्या सिंह शाह हुनुहुन्छ, हरेक परीक्षणको नतिजाहरु आएपछि त्यसलाई डाक्टरको टिमले विश्लेषण गर्नेछ, प्रधानमन्त्रीको स्वास्थ्य भनेको देशका लागि जिज्ञासाको विषय हो, आत्तिनुपर्ने छैन, उहाँको अवस्था सामान्य छ ।”
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्नका लागि बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल लगायतका नेता तथा मन्त्रीहरु अस्पताल पुग्नुभएको थियो ।
रासस