सर्वोच्चको फैसला ऐतिहासिक परिघटनाः दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ ।

सर्वोच्च अदालतको फैसलालगत्तै प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘संविधानको रक्षा र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो । त्यसकारण म सर्वोच्चको यो फैसिलालाई स्वागत गर्दछु ।

मेरो तर्फबाट, पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट पनि र सम्मानित सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई हार्दिक बधाई तथा धन्यवाद पनि भन्न चाहन्छु ।’

दाहालले अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उचो राखेको बताउनुभयो । ‘पटकपटकको संसद विघटन र पटकपटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको स्थिति थियो ।

त्यसकारण यो आम नेपाली जनताको जीतको रुपमा अगाडि आएको मैले देखेको छु,’ उहाँको भनाइ छ, ‘यो इतिहासमै एउटा महत्वपूर्ण परिघटनाका रुपमा भएको छ । इतिहासले यसलाई सम्मान गरिराख्ने छ ।’ –रासस


ताजा खबर