भारतमा गत महिना (जनवरीमा) बेरोजगारी दर घटेको एक थिंकट्यांकको तथ्यांकले देखाएको छ। २०२१ मार्चपछि भारतको बेरोजगारी दर ६.५७ प्रतिशतमा पुगेको सेन्टर फर मोनिटरिङ इन्डियन इकोनामी (सिएमआइई)नामक संस्थाले जनाएको छ। यो संस्थाले हरेक महिना भारतमा बेरोजगारीको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दै आएको भारतीय पत्रिका बिजनेस स्ट्यान्डर्डले जनाएको छ ।
उक्त थिंकट्यांकका अनुसार ओमिक्रोन भाइरसका कारण अपनाइएका नियन्त्रणकारी उपायहरू अब घट्दै गएका कारण बेरोजगारी दर अझै घट्न सक्ने स्थिति देखिएको छ । जनवरीमा सहरी क्षेत्रमा बेरोजगारी दर ८.१६ प्रतिशतमा देखिएको छ । ग्रामीण क्षेत्रमा यो दर ५.८४ प्रतिशतमा झरेको छ । ‘जब कि डिसेम्बर महिनामा बेरोजगारी दर सहरी क्षेत्रमा ९.३० र ग्रामीण क्षेत्रमा ७.२८ प्रतिशत गरी समग्रमा ७.९१ प्रतिशत थियो,’ थिंकट्यांकको प्रतिवेदनमा छ ।
भारतका विभिन्न प्रान्तहरूमध्ये तेलंगानामा बेरोजगार दर जनवरी महिनामा ०.७ प्रतिशत देखिएको छ भने गुजरातमा १.२, मेघालयमा १.५, उडिसामा १.८ प्रतिशत देखिएको छ । हरियाणामा भने सबैभन्दा बढी बेरोजगारी दर देखिएको छ । त्यहाँ बेरोजगारी दर २३.४ प्रतिशत देखिएको छ । राजस्थानमा १८.९ प्रतिशत देखिएको छ ।
सिआइएमईका अनुसार डिसेम्बर महिनासम्म बेरोजगार नागरिकको संख्या ५ करोड ३० लाख छ भने महिलाहरूको पनि ठूलो जनसंख्या बेरोजगार छ ।
सिआइएमईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत महेश व्यासका अनुसार डिसेम्बरमा ३ करोड ५० लाख जनताले सक्रियतापूर्वक रोजगारीको खोजी गरिरहेका थिए । यीमध्ये ८० लाख महिला थिए । यीमध्ये थप १ करोड ७० लाख बेरोजगार जनसंख्याले सक्रिय रूपमा रोजगारी नखोेजेको तर रोजगारी पाएमा उनीहरू पनि तयार रहेको व्यासले जानकारी दिएका छन् । –बिजनेस स्ट्यान्डर्ड























