स्वच्छ प्रतिस्पर्धा गर्न रास्वपा सभापति लामिछानेको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताउनुभएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू स्वच्छ राजनीति गर्न सदैव सक्रिय रहेको उल्लेख गर्नुभयो ।

‘हामी स्वच्छ राजनीति गर्न चाहन्छौँ, अरू दललाई पनि हामी यही आह्वान गर्छौँ’, उहाँले भन्नुभयो, ‘कुनै पनि उम्मेदवारविरुद्ध दुर्भाव छैन । सबैलाई यही आह्वान गर्छौँ ।’

लोकतन्त्रको सुन्दर पक्ष भनेको प्रतिस्पर्धा भएकाले यो सुन्दर पक्षलाई सबैले अवलम्बन गर्नुपर्नेमा लामिछानेले बताउनुभयो । ‘यो नै लोकतन्त्रको विशेषता हो, देशका मालिक जनता हुन्’, उहाँले भन्नुभयो ।

तनहुँ–१ का जनता जुनसुकै पार्टीमा भए पनि यसपटक देशका लागि सोचेर मतदान गर्न लामिछानेले आग्रह गर्नुभयो । ‘सबै दलप्रति हाम्रो सद्भाव छ, अन्य दलमा आबद्ध भए पनि दल फेर्नु पर्दैन, एकपटक मतमात्र फेर्नुस्, देश विकासको जिम्मा हामी लिन्छौँ’, उहाँले भन्नुभयो ।

No description available.

तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले राजनीतिक सङ्लाउने र अर्थतन्त्र उकास्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएको बताउनुभयो ।

राजनीति दूषित हुँदा देश विकासमा पछाडि परेको बताउँदै वाग्लेले राजनीतिलाई सफा बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

डा वाग्लेले आफू सुसंस्कृत राजनीतिज्ञ बन्न चाहेको बताउँदै अरूलाई गाली नगर्ने बताउनुभयो । ‘अरूलाई गाली गर्ने फुर्सद छैन, कामबाटै विरोधीलाई जवाफ दिन्छु’, उहाँले भन्नुभयो । वाग्लेले देश विकासको मोडल तनहुँबाट सुरु गरिने बताउँदै अन्य ठाउँले पनि यहाँबाट सिक्ने अवसर पाउने जिकिर गर्नुभयो ।

‘खानेपानी र बाटो बनाउनेमात्र नेता यहाँका जनताले खोजेका होइनन्, समग्र देशकै आर्थिक उन्नति उकास्ने नीति बनाउने नेता जनताले चाहेका छन्’, वाग्लेले भन्नुभयो ।

प्रतिनिधिसभा सदस्य एवं पूर्व शिक्षामन्त्री शिशिर खनालले तनहुँ–१ ले गर्व गर्न लायक उम्मेदवार पाएको बताउनुभयो ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सुशासन र आर्थिक समृद्धि आफ्नो पार्टीको प्रमुख कार्यभार रहेको बताउनुभयो । रासस


ताजा खबर